एउटा घरको खम्बा, रहरको रूख, सुरक्षाको पर्खाल । बुबा (बा) को मुख हेर्ने दिन सबैलाई आफ्ना बाको याद आउँछ । यसैगरी मलाई पनि मेरा बाको याद आउँछ । सारै सताउँछ । मलाई छुन्छ । बालाई हेर्न मन लाग्छ । नजिकबाट बाले हाँसेको, बोलेको, खोकेको सबै सुन्न मन लाग्छ ।
आफ्नो कर्म गर्न परदेश पसेको यो छोरीले यहाँबाट के आशा गर्न सक्छ र तपाईंको दीर्घ र स्वस्थ्य जीवनको कामना गर्ने न हो । नजिकै भएको भए आएर मीठो पकाएर खुवाउँथे होला या नजिकै बसेर रमाइलो गर्थ्यौँ होला । यसपालि टाढा नै छु । मलाई पर्खिनु बुबा म छिट्टै फर्किने छु।
सबैले बुबाको माया पाउँदा मलाई पनि ईर्श्या लाग्छ । अहिले समय नै यस्तै रहेछ । पहिले यस्तो त्यति थाहा थिएन मलाई बुबाको मुख हेर्ने दिन छ भनेर सायद त्यो बेला हामी सानै थियौँ । हामीले खाने एक गाँस जोड्नको लागि बुबा लाहुरे हुन गएको याद छ। तपाईंका दुःखले मलाई घोचिरहेका हुन्छन् अचेल । हामीलाई जीउँदो राख्न आफ्ना पाइला कहाँ लैजानु हुन्थ्यो खै कुन्नि कहिलेकाहिँ आउनुहुन्थ्यो ।
त्यो बेला हामीलाई त्यही रमाइलो लाग्थ्यो के ल्याइदिनु भयो भन्ने कौतुहलता हुन्थ्यो केटाकेटीको उमेर बा त्यसरी घरमा आउँदा मन फुरुङ्ग हुने । बुबाको काँधमा कति दुःख कति जिम्मेवारी रहेछ भन्ने अहिले बल्ल महसुस गर्छु । बुबा आफू खुशी हुने होइन उहाँले हामीलाई खुशी बनाउने कुरा प्रमुख हुने रहेछ ।
त्यो बेला सायद सबैका बुबाहरू यस्तै हुन्छन् होला सन्तानको लागि जिन्दगी सक्काउने । उमेर चढ्दै जाँदा सबै कुराको अनुभूति हुने रहेछ । मलाई अझै पनि याद छ बारीमा उम्रिएका साना बिरुवालाई पनि जोगाउनु पर्छ भनेर हामीलाई बारम्बार भन्नुहुन्थ्यो । आफ्नो पसिनाले उमारेका घरको छेउँछाउँका बोटहरूलाई हामीलाई जत्तिकै माया गर्नुहुन्थ्यो ।
घर र घरको बारीका हरेक काल्नाको माटोमा उहाँको पसिना बगेको छ । सबैतिर उहाँकै मीठो उपस्थिति छ भन्ने कुरा बोटहरू फुल्दा मीठो सुगन्ध आउँछ घरमा । उहाँको मिहिनेतलाई लेखेर वर्णन गर्न सकिँदैन । बुबाले पसिना बगाउँदा पिउने पानी दिन नसकेको मैले, अब त मैले पानी होइन उहाँका साना रहर पूरा गर्ने हैसियत बनाएकी छु । मेरा बुबा असाध्यै इमानदार, सहयोगी र माया देखाउने प्रकृतिको हुनुहुन्छ । असाध्यै कोमलो मन कसैलाई नराम्रो गर्न र भन्न हुन्न भनेर सिकाउने मेरा बाको शिक्षा सबैभन्दा ठूलो । गाउँले समाजमा बसेर बुबालाई सबैले मान्छन् । सबैले माया गर्छन् ।
बुबाले आफ्ना मान्छे कमाउनु भएको देख्दा खुशी लाग्छ । अब हामीले बुबाले जस्तै गर्न सक्दैनौँ । बुबाको कुरालाई हुँदैन भन्न नि सकिँदैन । बुबा त घरको ठूलो खम्बा । सबै थेग्ने । सबै सहने । यस्तै मजबुत । बुबाले खक्क खोक्दा पनि घरमा सुरक्षाको पर्खाल लाग्ने कस्तो बलियो त्यो पनि । पहिले आफू सानो छँदा बुबा लाहुरे भएर होला कहिल्यै घरमा देखिएन ।
बुबा घर छोडेर आफ्नो कर्म गर्न हिँडेको बेला घरमा चिठी लेखेर पठाउनु हुन्थ्यो हामी सानो मट्टितेलको बत्ती बालेर त्यसको नजिक हुँदै खुशीले पढ्दै रुन्थ्यौँ आँसु पुछ्थ्यौँ । पुछिएको आँसुले र बत्तीको कालोले होला हाम्रा गाला काला हुन्थे । त्यो बेलाको दुःख पनि मजा लाग्दो थियो । हामी बुबाको नजिक गएर बस्न खोज्थ्यौँ तर डर लाग्थ्यो । त्यो बेला बुबाको शरीरबाट बगेका पसिना बसाइरहेका हुन्थे नजिक जाँदा बुबाको सुगन्ध आउथ्यो । कति मीठो, निश्चल थियो त्यो मन । त्यो बालापन ।
अहिले बुबाले निभाएका जिम्मेवारीको दुःखको मात्रै याद आउँछ यस्तै लाग्छ बुबाले सुख पाउनु भएन कि क्या हो ! थकाइको भारी बिसाउनु भयो कि भएन खै । सोध्दा ठीक छु भनिराख्ने मेरा बा मैले फोन गर्दा सधै रुनुहुन्छ । बुबाको आँखाबाट खसेका आँसु र मेरो जिम्मेवारीको झोला बोक्दा काँध दुखेको बेला खसेका आँसुमा पनि फरक छ ।
बुबालाई सन्तानको मायाले सताउँछ । मलाई सन्तानको भविश्यको पिरले सताउँछ । अहिले म अलिअलि कमाउने भएकी छु बुबा । केही चाहिएको छ रहर लाग्दा केही कुरा भनेर सोध्दा कहिल्यै केही माग्नु हुन्न । मलाई मेरो पसिनाले कमाएको धनले बुबाका मीठा रहर लाग्दा केही चिज पूरा गर्न मन छ ।
परदेशमा छोरी छ अहिलेलाई आशीर्वाद दिनुहोला । आशीर्वादले तपाईंको खाली खल्ती, काम गर्दा दुखेका हत्केलामा लगाउने क्रिम, खुट्टामा लागेका चोटहरू मेटाउन मलम बोकेर आउनेछु त्यो बेला हेर्नेछु मैले मेरा बुबाको मुख | बा आँखामा बग्न लागेका टिल्पिल आँसुका थोपाहरू आँखाको घेराबाट बाहिर निस्कन नदिँदै फेरि ओँठ फुकाउँदै ठीक छु भन्ने आवाज निकाल्नुहुन्छ । सधै इस्टकोट लगाउने मेरा बा कतैबाट घुमेर आउँदा कोटको खल्ती छाम्ने मै हुँ ।
कहिले सिग्रेटका ठुटा कहिले साना चक्लेट यस्तै तर अहिले बाले चुरोट खानुहुन्न । हाम्रा बा सधैँ गुनगुनाउनु हुन्छ केही गीत या भजन | मेरा बाका दुःख देख्दा मलाई पनि दुख्थ्यो । बाको खल्ती रित्तिदा छिमेकीको मद्दत पनि सिद्दिएको महसुस अझै पनि छ उहाँसँग । चाउरिएर मुजा परेको उहाँको अनुहारमा खुशी सल्बलाएको हेर्न रहर छ अब ।
कुनै बेला उहाँको मन भत्किदा मेरो मन पनि भत्किन्थ्यो । मेरा आँखा अगाडि लागेका पर्खाल पनि भत्किन्थे । बाको माया अलग्गै छुट्टै अलि महसुस गर्न समय लाग्ने खालको हुने । सानैदेखि बा भनेपछि यसै मनमा डर हुन्थ्यो न खुलेर बोल्न सकिने न हाँस्न ।
अहिले त्यस्तो लाग्दैन । हामी बालाई सबैको वरिपरि माया गर्छौ । नजिकै राखेर जिस्काउँछौँ पनि । अनि सबै जना हाँस्छौँ । आमाले छोडेपछि बाको आँखामा आँसु सधैँ टिल्पिलाए जस्तै लाग्ने ।
त्यसपछि उहाँले दुःखको ठूलो भारी बोकेर हिँड्नु भएको छ । जिन्दगीको दुःख हो । उहाँले बोकेको दुःख हामीले साट्न मिल्दैन होइन भने हामी उहाँका सन्तान सबैले अलिअलि गर्दै बाँड्थ्यौँ होला । अहिले बा रोएको फिटिक्कै मन पर्दैन । मनमा धेरै कुरा नआओस् भनेर गाउँघर डुल्नु घुम्नु भन्छौँ तर मन हो घरिघरी त दुख्छ नै ।
हुँक्का छोडेर रुँदा हाम्रो पनि आँसु आउँछ । अहिले बुबाले के सोच्नुहुन्छ खै बुझ्न सकेकी छैन । म यत्ति चाहन्छु मेरा अघि बा दुःखी हुनु हुँदैन । मेरा बुबाका रहरहरू मलाई पूरा गराइदिन मन छ । अहिले त बालाई कसैले केही भन्यो भने मन दुख्छ मेरा बालाई कसैले दुखाएको मन पर्दैन । उहाँसँग आफ्नै दुःख छ । मनमा बाँड्न नमिल्ने किसिमको । बुबाका दुःख, बुबाको माया, बुबाको सुरक्षा छुट्टै हुँदो रहेछ ।
समाजमा कहीँ कतै पूजाआजा हुँदा मेरा बाको उपस्थिति अनिवार्य हुन्छ । मेरा बुबाले सबैको आशीर्वाद बोक्नु भएको छ । बुबा आफ्नो कर्ममा शुद्धता र इमानदारी बोकेर हिँड्नुहुन्छ । बुबा पनि खुशी हुनुहुन्छ । हामी उहाँका ज्ञानी छोराछोरी बनेको देख्दा ।
उहाँले भनिराख्नुहुन्छ तिमीहरू बुझ्ने छौ भनेर । यही त ठूलो कुरा हो अरु त सबैले आफ्नो भाग्य र कर्म कोरेर खाने हो । बुबाको माया प्रसाद जस्तै मीठो तर खाइराख्न नमिल्ने किसिमको हुँदोरहेछ । उहाँको महिमा भनेर समेट्न सकिँदैन ।
बुबा जहाँ हुनुहुन्छ तपाईंलाई मुख हेर्ने दिनको शुभकामना ! यत्ति हो तपाईंको सुस्वास्थ्य फुर्तिलो बनेरै अबको उमेर कटेको देख्न पाऊँ । तपाईंका हरेक रहरमा मेरा पसिनाका थोपाहरू मिसाउन सकुँ । बा साक्षात् भगवान् ।
तपाईंका दुःखमा साथ दिन सकुँ । मलाई लजाउने नबनाइदिनु आफ्ना रहरहरू लुकाएर । मेरा पुराना लुगा फेरिदिएर नयाँ लगाइदिने मेरा बुबालाई मैले फेरिदिने पालो आएको छ । अब बुबालाई हँसाउन मन छ । तपाईंलाई शुभकामना बुबा ! तपाईंकी छोरी ।(गुल्मीकी गौतम हाल इजरायलमा कर्मरत छिन्)