तिजका लागि यस्तो छ पशुपति क्षेत्रमा तयारी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
542
Shares
काठमाडौँ। हरितालिका तिज पर्वमा भक्तजनहरूको अत्यधिक भीडलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषले विशेष ट्राफिक र पार्किङ व्यवस्था मिलाएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले तिजको अवधिभर पशुपति क्षेत्रलाई पूर्ण रूपमा सवारी निषेधित क्षेत्र बनाइएको जानकारी दिए। उनका अनुसार, उमाकुण्ड, दक्षिणामूर्ति, महास्नानघर पश्चिम, भूवनेश्वरी–गौशाला र वनकाली क्षेत्रको दर्शन मार्गमा दमकल, एम्बुलेन्स र शववाहनबाहेक अन्य कुनै पनि सवारी साधन प्रवेश गर्न पाउने छैनन्।
भीड व्यवस्थापन र सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिनेछ। यसका साथै, स्वयंसेवक, स्काउट र रेडक्रसका टोलीहरू पनि खटाइनेछन्। तिजको दिन भक्तजनहरूलाई गुठीटोल, उमाकुण्ड, दक्षिणमुखी, रसगुलोचोक, वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्रवेश गराइनेछ र दक्षिण ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको छ। वैकल्पिक रूपमा, मृगस्थली–जयवागेश्वरी–पशुपति मार्ग हुँदै दक्षिणतर्फ प्रवेश गरी पश्चिमतर्फबाट बाहिरिने व्यवस्था पनि गरिएको छ।
कोषका अनुसार, ज्येष्ठ नागरिक, अशक्त, बालबालिका र अपाङ्गता भएका महिलाहरूलाई दर्शनका लागि विशेष प्राथमिकता दिइनेछ।