arrow

रोजगार विभागमा सुधारको प्रयास: अब दुई मिनेटमै श्रम स्वीकृति [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ९ सोमबार
kamal-bhattrai-02.jpg

काठमाडौं। काममा ढिलासुस्ती र बेथितिको आरोप खेप्दै आएको वैदेशिक रोजगार विभागले पछिल्लो समय सेवा प्रवाहलाई चुस्त बनाउँदै लगेको छ। महानिर्देशक कमलप्रसाद भट्टराईले विभागको नेतृत्व सम्हालेपछि वैदेशिक रोजगार क्षेत्रमा सुशासनका संकेतहरू देखिन थालेका छन्।

विभागमा भइरहेका सुधारको चर्चा गर्दै भट्टराईले भने, "विगतमा श्रम स्वीकृति लिन दुई हप्ताभन्दा बढी लाग्ने गरेकोमा अहिले यो समय घटेर दुई मिनेटमा आएको छ।" उनका अनुसार, सबै कागजात सही भएमा आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको छ। त्यसैगरी, इजाजत प्राप्त संस्थाहरूको नवीकरण पनि एकै दिनमा हुने गरेको छ।

विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीलाई अझै प्रभावकारी र भरपर्दो बनाउन काम गरिरहेको छ। महानिर्देशक भट्टराईका अनुसार, अब श्रम स्वीकृति मात्र नभई श्रम अभिलेख राखेर पठाउने व्यवस्था गर्ने, सेवा शुल्कलाई व्यावहारिक बनाउने, र न्यूनतम पारिश्रमिक निर्धारण गर्ने जस्ता नीतिगत सुधारका लागि पहल भइरहेको छ।

वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रणका लागि पनि विभागले सक्रियता बढाएको छ। सामाजिक सञ्जालमा आउने फेक विज्ञापन र बिचौलियाको भर नपर्न विभागले सबैलाई सचेत गराएको छ। महानिर्देशक भट्टराईले ठगीसम्बन्धी उजुरीहरूलाई स्थानीय तहबाटै सम्बोधन गर्नका लागि ऐन संशोधन गर्ने प्रक्रिया अगाडि बढाएको बताएका छन्। यसले पीडितलाई न्यायका लागि काठमाडौँ आउनुपर्ने झन्झटबाट मुक्ति दिनेछ र न्याय प्रक्रिया छिटो हुनेछ।

विदेश जानेहरूलाई सम्बन्धित देशको कानुन, भाषा, संस्कृति, हावापानी, र बैंकिङ प्रणालीको बारेमा राम्रोसँग जानकारी लिएर मात्रै अगाडि बढ्न महानिर्देशक भट्टराईले अनुरोध गरेका छन्। उनले अनलाइन प्रणाली सहज भएकाले बिचौलियाको सहायता नलिई आफैंले आवेदन दिन पनि आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ