राष्ट्रपतिद्वारा तीजको शुभकामना, भावनात्मक एकता र समतामूलक समाजमा जोड
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
598
Shares
काठमाडौँ। हरितालिका (तीज) पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण नेपाली महिलालाई शुभकामना सन्देश दिँदै यस पर्वलाई भावनात्मक एकता, माया र सृजनात्मकताको प्रतीकका रूपमा लिन आग्रह गरेका छन्। उनले तीजको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताएका छन्।
राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली महिलाहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दै यो पर्वले धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव कायम राख्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनले तीजलाई परापूर्वकालदेखि चलिआएको रीतिरिवाज र सामाजिक सहिष्णुताको प्रतिविम्बको रूपमा मनाइँदै आएको बताए।
पौडेलले तीजले परिवार तथा समाजमा भ्रातृत्व, एकता, र मेलमिलाप कायम गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। साथै, उनले महिलाविरुद्ध हुने भेदभाव र हिंसाको अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माण गर्न तीज पर्वले नयाँ उत्साह प्रदान गर्ने अपेक्षा लिएका छन्। उनले सबै क्षेत्रमा महिलाको सम्मानजनक सहभागिता बढोस् र सामाजिक सम्बन्ध थप सुमधुर होस् भन्ने शुभकामना प्रकट गरे।