भूमि व्यवस्थामन्त्रीले गरे तीन निकायसँग कार्यसम्पादन सम्झौता [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
537
Shares
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मन्त्रालयअन्तर्गतका तीन निकायका प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्। मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री अधिकारीले भूमि समस्या समाधान आयोग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षहरूसँग यो सम्झौता गरेका हुन्।
कार्यसम्पादन सम्झौताका क्रममा मन्त्री अधिकारीले सम्झौता गर्नु मात्र ठूलो कुरा नभएको भन्दै यसलाई परिणाममुखी बनाउन निर्देशन दिएका छन्। उनले विगतमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अपेक्षाअनुसार काम गर्न नसकेको बताए।
भूमि समस्या समाधान आयोग र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले भर्खरै काम सुरु गर्न लागेकाले उनीहरूले पनि सुधार गरेर काम गर्नुपर्नेमा उनले जोड दिए। मन्त्री अधिकारीले मन्त्रालयले राम्रो काम गर्यो भन्ने सन्देश दिने गरी काम गर्न निर्देशन दिए, जसमा मन्त्रालयको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाए।
भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले १२ बुँदे सम्झौता गरेका छन्।राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. बगराज शर्माले १० बुँदे सम्झौता गरेका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतमले १६ बुँदे सम्झौता गरेका छन्।
यसअघि, भूमिमन्त्री अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कार्यसम्पादन सम्झौता गरेका थिए।