गुल्मी। गुल्मी जिल्लामा लगातारको वर्षाका कारण कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार, कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–२, राक्सेमा पहिरो खसेपछि आज बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, रिडी–वामीटक्सार सडकखण्डको सत्यवती गाउँपालिका–६, डहरे खोलामा आएको बाढीले पनि सडक अवरुद्ध भएको प्रहरी निरीक्षक भूपेन्द्र थापाले जानकारी दिएका छन्।
बिहीबार साँझ एकतर्फी रूपमा खुलेका यी दुवै सडक वर्षा जारी रहेकाले र माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले पुनः बन्द भएका छन्। सडक खुलाउन आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।