मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त छैन - राष्ट्रपति पौडेल
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
552
Shares
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वास्तविक समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त नहुने बताएका छन्। सोमबार राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले साहित्य, कला, संगीत, संस्कृति र प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेकोमा जोड दिए।
राष्ट्रपति पौडेलले नेपाल विभिन्न भाषा, जाति र संस्कृतिहरूको साझा थलो भएको उल्लेख गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानले देशलाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले सगरमाथा, गौतम बुद्धको जन्मभूमि र कहिल्यै पराधीन नभएको स्वतन्त्र देशको रूपमा नेपालको पहिचानलाई स्थापित गर्ने काम प्रतिष्ठानले गरेको भन्दै प्रशंसा गरे।
उनले नेपाली जनताको लामो त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरूलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठानकै रहेको बताए। राष्ट्रपति पौडेलले हरेक मानिसको जीवनमा भाषा, साहित्य र संस्कृतिको ठूलो महत्त्व हुने र यी नै कुराहरू नेपालको शान र पहिचान भएको बताए। यसको विकास र उत्थान गर्नु सबै नेपालीको साझा दायित्व रहेको उनको भनाइ थियो।