सातै प्रदेशमा कम्तीमा एउटा अटिजम स्कूल बनाउँछौँ : स्वास्थ्यमन्त्री पौडेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
735
Shares
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयलाई समेट्न नसकेको स्वीकार गरेका छन् ।
काठमाडौँमा बुधबार आयोजित नेपालको राष्ट्रिय अटिजम निर्देशिका अन्तरक्रिया कार्यक्रममा उनले ऐनमा समेटेर केही हदसम्म सम्बोधन गरेका विषय पनि पूर्ण नभएकाले राहत महसुस हुने ढंगबाट सम्बोधन नभएको स्वीकार गर्दै यसमा नीतिगत पक्षबाट काम गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो यो अपाङ्गता ऐनले सबै कुरालाई समेट्न सकेको छैन् म त्यसलाई स्वीकार गर्छु । समेटेर केही हदसम्म सम्बोधन गरेको कुराहरु पनि पूर्ण छैनन् । एकदमै राहत महसूस हुने ढंगबाट सम्बोधन भएको छैन्, त्यो कुरा पनि स्वीकार गर्छु । यसमा हामीले नीतिगत पक्षबाट काम गर्नुपर्ने हुन्छ ।’
उनले आपाङ्गतासम्बन्धी ऐनमा उल्लेख भएकाबाहेक अन्य नयाँ-नयाँ समस्या पनि देखिएको बताउँदै तिनीहरुलाई सम्बोधन गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘नेपालमा जतिपनि आपाङ्गतासम्बन्धी विषय जति पनि छन्, त्यो ऐनमा उल्लेख भएकाबाहेक अन्य समस्या पनि छन् । नयाँ-नयाँ समस्या देखिएको छ । तिनीहरुलाई कहीँ पनि साहारा नपाएको जस्तो, कसैले नहेरेको जस्तो भइरहेको छ । त्यसैले यो नयाँ-नयाँ समस्या जुन छन्, यी सबैलाई सम्बोधन गर्न जरुरी छ ।’
यस्तै मन्त्री पौडेलले काठमाडौँको बुढानीलकण्ठ वडा नं ४ मा अटिजम स्कूल भवन बन्ने प्रकृया सुरु भएको जानकारी गराए । सातै प्रदेशमा कम्तीमा एउटा अटिजम स्कूल प्रारम्भिक चरणमा आवश्यक रहेको बताउँदै उनले यसलाई दीर्घकालीन प्रोजेक्टको रुपमा अगाडि बढाउने घोषणा समेत गरे ।
उनले भने, ‘यो पटकको बजेटमार्फत काठमाडौँको बुढानीलकण्ठ वडा नं ४ मा भवन बन्ने प्रकृया सुरु भएको छ । त्यसको डीपीआर पनि हामीलाई उपलब्ध भएको छ । हामीले तीन करोड रुपैयाँ राखेको छौँ । हामीले रफ्तारमा काम गरेर काठमाडौँमा अटिजम स्कूल बनाएर नै छाड्ने छौँ । यो सातै प्रदेशमा कम्तीमा एउटा स्कूल प्रारम्भिक चरणमा आवश्यक छ । यसलाई दीर्घकालीन प्रोजेक्टको रुपमा अगाडि बढाउँछौँ ।’