अष्ट्रेलियन ब्याट्सम्यान क्रिस लिन सुदूरपश्चिममा अनुबन्धित
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
377
Shares
काठमाडौं । सुदूरपश्चिम रोयल्सले आगामी सिजनको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अष्ट्रेलियाका प्रख्यात ब्याट्सम्यान क्रिस लिनलाई अनुबन्ध गरेको छ। लिन टोलीका पहिलो विदेशी खेलाडी हुन्।
आफ्नो आक्रामक ब्याटिङका लागि परिचित लिनले टी-२० फर्म्याटमा २९३ खेल खेल्दै ८,००० भन्दा बढी रन बनाएका छन्। उनले अष्ट्रेलियाका लागि १८ टी-२० अन्तर्राष्ट्रिय र ४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन्।
लिन अष्ट्रेलियन बिग ब्यास लिगमा सर्वाधिक रन बनाउने र सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन्। उनले इन्डियन प्रिमियर लिग (IPL) लगायत विश्वका धेरै फ्रेन्चाइज लिगहरूमा पनि खेलिसकेका छन्।
सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले लिनजस्ता अनुभवी खेलाडीको आगमनले टोलीलाई थप मजबुत बनाउने र एनपीएलको प्रतिष्ठा बढाउने विश्वास व्यक्त गरेका छन्। उनले भने, "बिग ब्यास लिगमा प्रतिष्ठा कमाएका यी अष्ट्रेलियन खेलाडीलाई पहिलो संस्करणदेखि नै हाम्रो योजनामा राखेका थियौं।"
लिनले पनि नेपालमा खेल्न पाउनु निकै रोमाञ्चक हुने बताएका छन्। उनले भने, "म यहाँका क्रिकेटप्रेमीहरूको अगाडि र प्रतिभाशाली खेलाडीहरूको समूहसँगै खेल्न पाउँदा उत्साहित छु।"