काठमाडौँ। हालै सरकारको सूचीकरणसम्बन्धी निर्णयमा ‘हाम्रो पात्रो’ को नाम समावेश भएपछि प्रयोगकर्तामाझ विभिन्न हल्ला र भ्रम फैलिएको छ। उक्त सूचीमा नाम देखिएपछि प्रयोगकर्ताहरू अचम्ममा परे भने सामाजिक सञ्जालमा थरथरीका अफवाह फैलिन थालेका थिए। त्यसै सन्दर्भमा ‘हाम्रो पात्रो’ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै भ्रमबारे स्पष्टीकरण दिएको छ।
स्थापना र सुरुवात
‘हाम्रो पात्रो’ सन् २०१० मा शङ्कर उप्रेतीद्वारा सुरु गरिएको हो। विदेशमा रहेका नेपालीहरूलाई चाडपर्व र विशेष दिनहरूको जानकारी नहुँदा उनीहरूले ल्याएको पात्रो वर्ष दिनमै पुरानो हुने समस्यालाई सम्बोधन गर्न यो एप सुरु गरिएको थियो। बिस्तारै लोकप्रिय भएपछि यसलाई औपचारिक रूपमा कम्पनीका रूपमा दर्ता गरिएको हो।
दर्ता र कानुनी स्थिति
‘हाम्रो पात्रो’ सन् २०१६ (विसं २०७३) देखि नेपालमा दर्ता भएको हो। यो स्मार्ट आइडियाज प्रालि नामक सूचना प्रविधि कम्पनीको उत्पादन हो। अहिले यस कम्पनीमा १०० भन्दा बढी कर्मचारी कार्यरत छन् र कम्पनीले नियमित रूपमा नेपाल सरकारलाई कर तिर्दै आएको छ। यसैले हालसालै मात्र दर्ता भएको भन्ने हल्ला भ्रामक भएको ‘हाम्रो पात्रो’ले स्पष्ट पारेको छ।
सूचीकरणको कारण
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सामाजिक सञ्जालसम्बन्धी सूचीमा ‘हाम्रो पात्रो’लाई पनि समावेश गरेपछि मन्त्रालयको निर्देशन अनुसार नाम उल्लेख मात्र गरिएको हो। तर, यसलाई नयाँ दर्ता गरिएको भन्ने गलत बुझाइ फैलिएको कम्पनीले जनाएको छ।
के ‘हाम्रो पात्रो’ सामाजिक सञ्जाल हो?
नेपाल सरकारको कानुनअनुसार सामाजिक सञ्जाल भन्नाले प्रयोगकर्ताबीच अन्तरक्रियात्मक सञ्चार गर्ने सुविधा र प्रयोगकर्ताद्वारा निर्माण गरिएका सामग्री प्रसारण गर्ने प्लेटफर्मलाई बुझिन्छ। उक्त परिभाषाअनुसार, ‘हाम्रो पात्रो’ सामाजिक सञ्जालको श्रेणीमा नपर्ने कम्पनीले स्पष्ट पारेको छ।
प्रयोगकर्ताप्रतिको आभार
सूचीमा नाम समावेश भएपछि प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमार्फत देखाएको असन्तुष्टि र समर्थनले आफूहरूलाई थप जिम्मेवारी बोध भएको कम्पनीले जनाएको छ। प्रयोगकर्तामाझ देखाइएको माया र विश्वासका लागि ‘हाम्रो पात्रो’ले सबैलाई धन्यवाद दिएको छ।