विराटनगरमा जेन-जीको प्रदर्शन उग्र, प्रदेशसभा अगाडि झडप
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
492
Shares
विराटनगर। जेन-जी पुस्ताले चलाएको आन्दोलन मंगलबार बिहानैदेखि विराटनगरमा उग्र बनेको छ। सयौंको संख्यामा रहेका युवाहरू पूर्व र पश्चिम दुवै दिशाबाट कोशी प्रदेशसभा सचिवालयतर्फ अघि बढेपछि स्थिति तनावपूर्ण भएको हो।
प्रदर्शनकारीहरूले प्रदेशसभा भवनभित्र प्रवेश गर्न खोज्दा प्रहरीसँग दोहोरो झडप भएको छ। ब्यारिकेट तोड्ने प्रयास गरेपछि प्रहरीले भीड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको छ।
कर्फ्यू आदेश तोड्दै अगाडि बढेका युवामाथि प्रहरीले बल प्रयोग गरेपछि आन्दोलनकारी झन् आक्रामक बनेका छन्। निरन्तर नाराबाजी जारी रहेकाले सुरक्षा निकायलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ भएको छ।
यस क्रममा विराटनगरको पुष्पलालको शालिकसमेत तोडफोड गरिएको छ। अहिले पनि शहरका विभिन्न क्षेत्रमा तनाव कायमै रहेको बताइएको छ।