बीमा प्राधिकरणको निर्देशन - घरबाटै सेवा सञ्चालन गर्नू
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
724
Shares
काठमाडाैँ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई हाल देशभर उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै घरबाटै सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै सुरक्षाको अवस्था सामान्य नहुँदासम्म सबै बीमा कम्पनी तथा तिनका शाखा र उपशाखा कार्यालयहरूलाई वर्क फ्रम होम (घरबाट कार्य सञ्चालन) को व्यवस्था मिलाउन अनुरोध गरेको हो ।
प्राधिकरणले बीमा कम्पनीहरूलाई आफ्ना कर्मचारी र भौतिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न पनि विशेष आग्रह गरेको छ ।
साथै, सुरक्षा निकायको आदेश पूर्ण रूपमा पालना गर्न र कुनै पनि अवाञ्छित गतिविधि देखा परेमा तुरुन्तै सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन समेत सूचित गरिएको छ ।
बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले यस्तो कदम देशमा हालको अस्थिर र संवेदनशील परिस्थितिको सामना गर्न र बीमा सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले चालेको बताइएको छ । प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुरमा छ ।