गुल्मी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ। गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ को राक्से भन्ने स्थानमा सडकमाथिबाट पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार, सडक सुचारुका लागि प्रहरी टोली घटनास्थलमा खटिएको छ। तर, निरन्तरको वर्षाले गर्दा पहिरो पन्छाउन समस्या भइरहेको छ।
सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवलसम्म आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्। वर्षा रोकिएलगत्तै सडक सुचारु गर्नका लागि स्थानीय निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनले पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखेको प्रहरीले जनाएको छ।