सर्वमान्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार बनाई छ महिनाभित्र निर्वाचन गराउन अपील
'अहिले संसद्मा भएका पार्टीहरू पनि सहभागी बन्न पाउने छैनन्, सहमतिबाट जेनजी समूहका प्रतिनिधि पनि सहभागी बनाउनुपर्नेछ'
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
4.6k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । आन्दोलित जेन-जी युवा विद्यार्थीहरूले निष्पक्ष, निर्विवादित र सर्वमान्य व्यक्तिको नेतृत्वमा अन्तरिम नागरिक सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन् । जेन-जी युवा विद्यार्थीले एक अपील जारी गर्दै राज्यको निकायमा भएका वा कुनै पनि तहको जनप्रतिनिधिलाई अन्तरिम नागरिक सरकारमा सहभागी गराउन नपाइने उल्लेख गरेका छन् ।
उनीहरूको अपीलमा लेखिएको छ, 'अहिले संसद्मा भएका पार्टीहरू पनि सहभागी बन्न पाउने छैनन् । सहमतिबाट जेनजी समूहका प्रतिनिधि पनि सहभागी बनाउनुपर्नेछ ।'
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्थासहित निर्वाचन ६ महिनाभित्र गराउनुपर्नेमा उनीहरूको जोड छ । जसमा विज्ञसहितको मन्त्रिमण्डल, कानून निर्माणका लागि जननिर्वाचित प्रतिनिधि सभा हुनुपर्ने अपीलमा उल्लेख छ ।
अपीलमा 'विसं. २०४६ यता राज्यको सेवासुविधा लिने सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली नागरिक आयोगको गठन गरी अपचलित सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । देशलाई आगामी दिशानिर्देश गर्न उच्चस्तरीय र निर्विवादित सर्वपक्षीय व्यक्ति वा समूह र जेन-जी समूहको प्रतिनिधिसहित उच्चस्तरीय नागरिक संयन्त्रको निर्माण गर्नुपर्नेछ' भनिएको छ ।
जेन-जीको आन्दोलनमा प्रतिगामी शक्ति, संसदवादी दल र सरकारमै भएका दलका कार्यकर्ता, लोकप्रियतावादीहरू र नेपाललाई पराधीन बनाइराख्न खोज्ने शक्तिले नेपाली युवा विद्यार्थी र आमजनताको आक्रोशको भरपुर दुरुपयोग गरेको अपीलमा उल्लेख छ ।
अब देशलाई खरानीकै जगमा उठाउनुपर्ने अपीलमा बताइएको छ । वार्तामा कुनै एउटा समूह वा अमूक व्यक्तिलाई मात्रै नभएर सबै जेन-जी समूहरूको सर्वसहमतिमा वार्ताअगाडि बढाउन अपीलसमेत गरिएको छ ।