arrow

दलीय संयन्त्रको बैठकः संविधान र लोकतन्त्रको दायराभित्र समाधान खोज्न आह्वान 

logo
जनबहादुर शाही, 
प्रकाशित २०८२ भदौ २६ बिहिबार
humla-politics-82-5-26.jpg

हुम्ला । जेन-जी आन्दोलनका घटनाले मुलुकमा उत्पन्न गरेको संवेदनशील वातावरणप्रति गहिरो चिन्ता व्यक्त गर्दै हुम्लामा दलीय संयन्त्रको बैठक बसेको छ । 

बैठकले हिंसात्मक गतिविधिले समाधान होइन, थप द्वन्द्व जन्माउने ठहर गर्दै समस्याहरूलाई संविधान र लोकतन्त्रको दायराभित्र रही आपसी संवाद र सहकार्यद्वारा समाधान गर्न सबै पक्षहरूलाई आह्वान गरेको छ । साथै, जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकले शान्ति र स्थायित्व कायम गर्न सम्पूर्ण पक्षहरूलाई जिम्मेवार, संयमित र कानूनी मर्यादाभित्र रही कार्य गर्न आग्रह गरेको छ।

बैठकपछि दलीय संयन्त्रले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै भदौ २४ गते आन्दोलनको नाममा भएका अकल्पनीय आगजनी, तोडफोड, आक्रमण र लुटपाटजस्ता हिंसात्मक घटनाप्रति गहिरो खेद व्यक्त गरेको छ। यस्ता घटनाहरूको सत्यतथ्य सार्वजनिक गर्न सरकारले उच्चस्तरीय न्यायिक छानबिन गर्नुपर्ने माग विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै, जेन-जी आन्दोलनले उठाएका एजेन्डाहरूको सम्मान गर्दै यसको समाधान संविधान र संसदीय प्रक्रियाभित्र खोजिनुपर्ने ठहर बैठकले गरेको छ। यसका लागि सरकारले सर्वपक्षीय बैठक आव्हान गरी राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ।

सबै सरोकारवालालाई सचेत रहन आह्वान गर्दै हालको संवेदनशील परिवेशमा धमिलो पानीमा माछा मार्ने र बाह्य घुसपैठ हुने प्रवृत्तिप्रति सचेत रहन पनि संयन्त्रले जोड दिएको छ। केन्द्रदेखि स्थानीय तहसम्म सबै निकायहरूबीच एकता र समन्वय आवश्यक रहेको बैठकले बताएको छ ।

जेन-जी पुस्ताले उठाएका मागहरूलाई संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधन गर्न राष्ट्रपतिको पहललाई समर्थन गर्दै संयन्त्रले शान्ति–सुरक्षा कायम गर्न सबै सम्बद्ध निकायहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ। साथै, प्रतिकूल परिस्थिति भए पनि भविष्यप्रति आशावादी रहँदै संविधानको रक्षा र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिन सबै दलहरूलाई आह्वान गरिएको छ।

शान्ति, विकास र सुशासनप्रति प्रतिबद्ध रहन आग्रह गर्दै संयन्त्रले आफ्नो विज्ञप्तिमा हुम्लाको शान्ति, विकास र सुशासनको पक्षमा निरन्तर क्रियाशील रहेको पृष्ठभूमि स्मरण गराउँदै सबै पुस्ता र पक्षहरूलाई संयमता, उच्च सुझबुझ, सजगता र शान्तिपूर्ण ढंगबाट निकासको पक्षमा उभिन हार्दिक अपिल गरेको छ।

प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसका कार्यवाहक सभापति कैलाश भण्डारी, नेकपा (एमाले) का उपाध्यक्ष प्रकाश बहादुर शाही र नेकपा (माओवादी केन्द्र) हुम्लाका संयोजक डा. दिपेन्द्र रोकायाले आ–आफ्ना दलहरूको तर्फबाट हस्ताक्षर गरेका छन्। नेकपा (माओवादी केन्द्र) का संयोजक डा. दिपेन्द्र रोकायाको अध्यक्षतामा जिल्लामा क्रियाशील तीन प्रमुख दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित दलीय संयन्त्र, हुम्लाको बैठक २०८२ भाद्र २६ गते सिमकोटमा बसेको थियो। बैठकमा नेकपा (माओवादी केन्द्र) हुम्लाका संयोजक डा. दिपेन्द्र रोकाया, नेपाली कांग्रेस हुम्लाका कार्यवाहक सभापति कैलाश भण्डारी, उपसभापति बसन्त रोकाया, नेकपा (एमाले) हुम्लाका उपाध्यक्ष प्रकाश बहादुर शाही र नेकपा (माओवादी केन्द्र) हुम्लाका सचिब धर्मराज बोहोरासहित संयन्त्रका अन्य सदस्यहरू उपस्थित थिए ।

दलीय संयन्त्र, हुम्लाले जारी गरेको यो संयुक्त धारणा जिल्लामा देखिएको शान्ति–सुरक्षा चुनौतीबीच राजनीतिक दलहरूबीचको साझा प्रतिबद्धता र सहकार्यको सशक्त सन्देशका रूपमा लिइएको छ। बैठकले विभाजनभन्दा सहकार्य, द्वन्द्वभन्दा संवाद र हिंसाभन्दा शान्तिपूर्ण निकासको बाटो रोज्न सबैलाई आह्वान गर्दै साझा प्रतिबद्धताको सन्देश दिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ