नवनिर्माण र पुनः निर्माणमा जुट्न नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा अपिल
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
392
Shares
तस्बिर : फाइल
काठमाडौँ। ‘जेनजी’ आन्दोलनका क्रममा देशभर भएको जनधनको क्षतिप्रति निजी क्षेत्रका छाता संस्थाहरूले दुःख व्यक्त गर्दै तत्काल नवनिर्माण र पुनः निर्माणमा जुट्न सार्वजनिक अपिल गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घले आज विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएका आगजनी तथा तोडफोडबाट अपूरणीय क्षति भएकामा दुःख व्यक्त गरेको छ। महासङ्घले निर्बाध पेसा–व्यवसाय सञ्चालनका लागि आवश्यक सुरक्षा माग गर्दै निजी क्षेत्रले बजारमा उपभोग्य वस्तुको अभाव हुन नदिन व्यवसायीलाई आग्रहसमेत गरेको छ।
“उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन्। यसरी व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासङ्घ भर्त्सना गर्दछ। साथै महासङ्घ व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताका लागि सबैको ध्यानाकर्षण गराउन चाहन्छ”, विज्ञप्तिमा भनिएको छ, “उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौँ रुपैयाँ बराबरको क्षति भएको छ। यसबारे महासङ्घले थप विवरण सङ्कलन गरिरहेको भएता पनि क्षतिका कारण राजस्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आकलन गरिएको छ।”
देशको समुन्नतिका लागि अन्योल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा समन्वय एवं सहकार्य गर्न निजी क्षेत्र तयार रहेको पनि महासङ्घले जनाएको छ। उद्यम व्यवसाय सञ्चालनका लागि सुरक्षाको प्रत्याभूति गरिनुपर्ने उहाँको भनाइ छ। “नवनिर्माण एवं पुनः निर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम व्यवसायको निर्बाध सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षाको व्यवस्थाका लागि महासङ्घ आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ,“निजी क्षेत्रका गतिविधि निर्बाध रूपमा सञ्चालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजस्वमा समेत नकारात्मक प्रभाव पर्न जानेछ।”
निषेधाज्ञा एवं कर्फ्युका समयमा अत्यावश्यक सेवा तथा पेसाकर्मीको आवतजावत एवं औषधि, खाद्यान्न, दूध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसारपसार सहजीकरणको लागि पनि महासङ्घले आग्रह गरेको छ। यसै गरी, गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिनेतर्फ देशैभरका उद्यमी व्यवसायीलाई अपिल गरिएको छ। अत्यावश्यक सामान आयात–निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिई पुनः सञ्चालन गर्ने वातावरण निर्माणका लागि पनि महासङ्घले आग्रह गरेको छ।
यस्तै, नेपाल चेम्बर अफ कमर्सले बिहीबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनका क्रममा औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति भएको जनाउँदै वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संवाद, सहकार्य र संयम अपनाउन सरोकार भएका निकायको ध्यानाकर्षण गराएको छ। भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रको पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँच जस्ता ‘जेनजी’ले उठाएका विषयलाई सबै सरोकार भएकाले गम्भीरतापूर्वक लिनुपर्ने चेम्बरले आवश्यकता औँल्याएको छ।
“आन्दोलनका क्रममा भएको जनधनको क्षतिले देशमा थप निराशा फैलाउने, औद्योगिक तथा व्यावसायिक वातावरण खलबल्याउने र लगानीमैत्री वातावरणमा प्रतिकूल असर पार्ने भएकाले सबै सरोकारवाला पक्ष संयमित बनेर निकास खोज्नुपर्ने आवश्यकता छ”, विज्ञप्ति उल्लेख छ,“आगामी दिनमा यस्ता खाले घटना दोहोरिन नदिन सरोकार भएका पक्ष र जेनजी पुस्ताका युवाहरूलाई संवाद र रचनात्मक सहकार्यमार्फत दीर्घकालीन समाधान खोज्न हामी आह्वान गर्दछौँ। साथै, मुलुकको समग्र विकासमा सबै पक्षको सक्रिय सहभागिता पनि अपरिहार्य छ।”
यस्तै, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि मुलुकभर यातायात ठप्प हुँदा दैनिक उपभोग्य सामग्री, कच्चापदार्थ, औद्योगिक उत्पादनदेखि औषधि आपूर्तिसमेत गम्भीर रूपमा प्रभावित भएको जनाएको छ। यसले व्यवसायी, चालक, सहचालक र मजदुरहरूको जीविकामा सङ्कट ल्याएको र नागरिक असाधारण कठिनाइमा परेको पनि महासङ्घले जनाएको छ। यातायात व्यवसायीलाई राज्यले पूर्ण कानुनी सुरक्षा दिनुपर्ने मागसमेत गरिएको छ।