मधेसमा जितिया पर्व शुरु, आमाहरूले थाले सन्तानको दीर्घायुका लागि व्रत
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
744
Shares
महोत्तरी। मधेसको प्राचीन मिथिला क्षेत्रमा आजदेखि सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै जितिया पर्वको व्रत शुरु भएको छ।
पितृपक्षमा पर्ने असोज कृष्ण अष्टमीका दिन मनाइने यस पर्वमा सन्तानवती मिथिलानीहरूले शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रतको सङ्कल्प गरेका थिए। मध्यरातअघि ‘ओगटन’ (दर) खाएपछि उनीहरूले निराहार व्रत शुरु गरेका हुन्।
मिथिला पञ्चाङ्गका अनुसार, यो निराहार व्रत भोलि सोमबार बिहान ७ बजेपछि मात्र समापन गर्न सकिनेछ। बर्दिबासका मैथिल कर्मकाण्डका ज्ञाता पण्डित दिनेशकुमार झा का अनुसार, व्रतको विधानअनुसार एक अहोरात्र काटेर नवमी तिथि एक घडीपछि मात्र व्रत समापन गर्नुपर्छ।
पर्वको मुख्य दिन आज व्रतालुहरू राजा जिमुतवाहनको कथा सुन्दै छन्। द्वापर युगमा राजा शालीवाहनका पुत्र जिमुतवाहनले असोज कृष्ण अष्टमीकै दिन एक विधवा ब्राह्मणीका सात मरेका छोरालाई ब्युँताएको कथाको आधारमा सन्तानको कल्याणका लागि यो व्रत परम्परा शुरु भएको मैथिल जनविश्वास छ। यो व्रत भविष्य पुराणमा पनि वर्णित छ।
जितियाको व्रत निष्ठा र श्रद्धापूर्वक गर्दा सन्तानको कल्याण हुनुका साथै सन्तानले आमालाई सुख दिने विश्वास गरिन्छ। सोह्र श्राद्धमा छोराहरूले पितृलाई तर्पण दिएजस्तै, जितियाको व्रतमा व्रतालुहरूले पनि तीन पुस्ताभित्रका दिवङ्गत महिला आफन्तलाई तर्पण दिने चलन छ।