arrow

राष्ट्रिय बाल दिवसमा राष्ट्रपतिको शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
ramchandras-s.jpg

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसको अवसरमा समस्त नेपाली बालबालिका र अभिभावकहरूलाई शुभकामना व्यक्त गरेका छन्। नेपालले बाल अधिकारसम्बन्धी महासन्धीलाई अनुमोदन गरेको दिनको सम्झनामा हरेक वर्ष भदौ २९ गते यो दिवस मनाइन्छ।

यस वर्षको बाल दिवसको नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ रहेको छ। राष्ट्रपति पौडेलले यस नाराले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र विकासका लागि आवश्यक लगानी सुनिश्चित गर्ने अपेक्षा गरिएको बताएका छन्।

राष्ट्रपतिले नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि सबै सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक र सरोकारवालाहरूको एकीकृत र समन्वयात्मक भूमिका आवश्यक रहेको बताएका छन्। उनले अझै पनि केही बालबालिका अधिकारबाट वञ्चित रहेको भन्दै उनीहरूमाथि हुने अमानवीय व्यवहार, हिंसा र दुर्व्यवहार रोक्नु सबैको दायित्व रहेको उल्लेख गरेका छन्।

बालबालिकाको भविष्य सुनिश्चित गर्न रचनात्मक, व्यावहारिक, निःशुल्क र गुणस्तरीय शिक्षा, पोषणयुक्त आहार, सुरक्षित खानेपानी, सरसफाइ र बालमैत्री स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्ने आवश्यकतामा राष्ट्रपतिले जोड दिएका छन्। उनले घर, विद्यालय र समुदायमा सुरक्षित वातावरण सिर्जना गरी सबै बालबालिकालाई समान अवसरको सुनिश्चितता प्रदान गर्न यस दिवसले सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन्।

अन्तमा, राष्ट्रपति पौडेलले बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि आ-आफ्नो भूमिका निर्वाह गर्न सबै पक्षलाई थप प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ