arrow

रक्तरञ्जित युवा: जेन-जी आन्दोलनका घाइतेको आवाज [तस्बिर]

logo
ममुन केसी, 
प्रकाशित २०८२ भदौ ३० सोमबार
genZ-protesters-hospital-82.jpg
तस्बिर : ममुन केसी, नेपाल फोटो लाइब्रेरी । 

काठमाडौँ । भदौ २३ गते राजधानीको मुटु संसद भवन अगाडि । बिहानदेखि चर्किएको नाराबाजी अचानक धुवाँ, अश्रुग्यास र गोलीको आवाजले भरियो । सडकमा हजारौँ युवाहरु ‘परिवर्तन’ को नारा लिएर उभिएका थिए तर एक्कासी गोलीले उनीहरुमध्ये कयौँलाई भुइँमा ढाल्यो। 

त्यही दिनदेखि “जेन-जी आन्दोलन” ले नेपाललाई नयाँ बाटोमा धकेल्यो, अघिल्लो दिन सडकमा रगत बगेको थियो भने अर्को दिन ९ सेप्टेम्बरमा सरकारकै नेतृत्व ढलेको थियो । तर आन्दोलनको कथा नेताहरुको कुर्सीमा मात्र सीमित छैन । त्यो कथा अहिले पनि राष्ट्रिय ट्रमा सेन्टरको वार्डमा पसारिएको छ–जहाँ खुट्टामा, हातमा, कम्मरमा गोली खाएका युवाहरुको शरीर मात्र होइन, भविष्यप्रतिको विश्वास पनि उपचारमा छ ।

“मैले भिडियो खिच्दै गर्दा गोली लाग्यो”
५३ वर्षीय लक्ष्मण दिपकर आन्दोलनका सामान्य सहभागी थिएनन्। उनी अफिस जाँदै थिए, बाटो अवरुद्ध भएपछि सडकमै बसेर विरोधमा सामेल भए। मोबाइल निकालेर भिडियो खिचिरहेका बेला अचानक गोली लाग्यो।

“जेन-जी भाइहरूले मलाई बोकेर अस्पताल लगे, अनि यहाँ ल्याइयो,” उनले सम्झिए। खुट्टामा बाक्लो पट्टी बाँधिएको उनले शान्त स्वरमा थपे, “अब नेपाल परिवर्तन भयो। अब देश राम्रो बन्नुपर्छ।”

लक्ष्मण दिपकर

“५१ जनाको रगत बगिसक्यो, अझै डराउने कुरा छैन” 

२२ वर्षीय अभिषेक श्रेष्ठ संसद भवनको अगाडि आन्दोलनमै थिए।

“साथीलाई गोली लाग्यो, म उक्लाएर ढाक्न पुगेँ, अनि मलाई पनि गोली लाग्यो,” उनले भने।

तर उनको स्वरमा भने घाउभन्दा ठूलो आक्रोश झल्किन्छ:

“५१ जनाको रगत बगिसक्यो, अझै डराउने कुरा छैन,” अभिषेक श्रेष्ठ चिच्याएझैँ सुनिन्छ। संसद भवनअगाडि गोली खानु परेको उनको अनुभवले उनलाई अझै कठोर बनाएको छ ।

“अब होसियार बन। हामीले देखाइसकेका छौँ-यो पुस्ता सजिलै चुप लाग्दैन। राजनीतिक खेलमा नफस, ‘यो जिन्दावाद त्यो जिन्दावाद, त्यो पार्टी’ भन्दै बेबकुफ नबन । राष्ट्रको कुरा गर, देशको सपना देख । होइन भने हामी फेरि सडकमा हुनेछौँ, फेरि गोली खानुपर्ने भए पनि डराउँदैनौँ । हामी जेन-जी हौँ, हामीलाई थाम्न सकिँदैन ।”

अभिषेक श्रेष्ठ

 “शान्तिपूर्ण प्रदर्शनमै गोली”
२३ वर्षीय दीपराज राईले आफू शान्तिपूर्ण आन्दोलनमै भएको दाबी गर्छन् । “हामी ३–४ जनाको समूहमा थियौं, प्रहरीलाई समेत गोली नचलाउन भनेका थियौँ,” उनले अस्पतालको ओछ्यानमा भन्दै थिए। तर दिउँसो साढे १ बजे उनमा गोली प्रहार भयो। “पाइला भरेर सडकमा निस्केका हौं—भविष्य फेरि त्यस्तो नहोस्, यत्ति मात्र चाहन्छु।”

दीपराज राई

                                

छेउँमै अर्को घाइते, २२ वर्षीय चाबहिलका नबिन तामाङ , अझै पनि त्यो क्षण सम्झिँदा हच्किन्छन् । “संसद भवनको नम्बर १ ढोका अगाडि थियौं। एउटा साथी गोली लागेर ढल्यो, म उक्लाउन गएँ। अनि मलाई पनि लाग्यो,” उनले भने ।

पहिले सिभिल अस्पतालमा प्राथमिक उपचार भयो, त्यसपछि उनलाई ट्रमा सेन्टर सारियो । “अब मलाई लाग्छ, देशमा केही असम्भव छैन। तर नयाँ पुस्ताले पुराना पुस्ताले गरेको गल्ती दोहोर्याउन हुँदैन ।”

                             

नबिन तामाङ


केही दिनअघिमात्रै भदौ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरू पदमुक्त भए। यो क्षणलाई धेरैले “जेन-जी क्रान्तिको पहिलो उपलब्धि” भनेर हेरे। तर उपलब्धि सस्तोमा आएको थिएन।

“सिलाएको घाउ दुख्छ तर परिवर्तनको ढोका खोलेका छौं”

२१ वर्षीय सुरेश पोखरेल, कम्मर नजिक गोली लागेको घाउ समाउँदै विस्तारै भने:

“सिलाएको ठाउँमा एकदमै पीडा छ। तर हामीले परिवर्तनको ढोका खोलेका छौं। घाइते र मृतकको बलिदानलाई सम्झेर समाज अब सुधारिनुपर्छ ।”

                           

सुरेश पोखरेल

अस्पतालको व्यस्तता र अनिश्चितता
राष्ट्रिय ट्रमा सेन्टरका अनुसार २३ गतेको गोलीकाण्डपछि मात्रै करिब १५० जना घाइते यहाँ ल्याइएका छन्। धेरै डिस्चार्ज भइसके पनि अझै ३०–३५ जना भर्ना छन्, जसमा केहीलाई आईसीयूमा राखिएको छ।

पीडा र आशाबीच उभिएको आन्दोलन

भदौ २३ को गोलीकाण्डले एउटा कुरा निर्विवाद बनायो, यो आन्दोलन केवल नारामा सीमित छैन। सडकमा बगेको रगत, अस्पतालमा पसिएको नुनपानी र घाइतेहरूको चिच्याइरहेका कथाहरूले यसको वास्तविक अनुहार देखाइदिएका छन् ।

सरकार त ढलिसक्यो, तर सडकमा ढलेका मानिसहरूको पीडा अझै बाँकी छ।

अभिषेकले भनेका शब्द अझै कानमा बजिरहेझैँ लाग्छ:

“आज मलाई एउटा गोली लागेको छ। अर्को गोली लाग्ने डर छैन। तर मेरो चाहना, हामीले गरेका गल्ती कहिल्यै हाम्रो छोराछोरीले भोग्न नपरोस् ।”

नेपालले नयाँ राजनीतिक अध्याय सुरु गरिसकेको छ । तर यी घाइतेहरूको कथा स्मरण गराउँछन्, परिवर्तन सस्तोमा आएको छैन । यो रगत, आँसु र बलिदानको मूल्यमा आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ