सरकारले ल्यायो सुपथ मूल्य पसल सञ्चालनमा : खसीबोका नआउने, यी वस्तुमा छुट [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
884
Shares
काठमाडौं। सरकारले सोमबारदेखि चाडपर्वलाई लक्षित गर्दै देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले बिना कुनै औपचारिक कार्यक्रम यी पसलहरू सुरु गरेका हुन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी प्रादेशिक प्रमुख धर्मकुमारी राजवंशीले जानकारी दिएअनुसार, खाद्य व्यवस्था कार्यालयबाट ५१ प्रकारका खाद्य वस्तुहरूमा छुट दिइएको छ। चामल, गहुँ, दाल, केराउ र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको छ भने चिउरा, आटा, पिठो, मैदा, चियापत्ती, जिरा, धनियाँ र तेलमा प्रतिलिटर/प्रतिकेजी ७ रुपैयाँ छुट दिइएको छ। यस्तै, सिमी, फापर, मार्सी र बासमतीमा भने प्रतिकेजी १० रुपैयाँ छुट दिइएको छ।
राजवंशीले काठमाडौं उपत्यकामा रामशाहपथ, नख्खु, र दक्षिणकालीबाट पसल सञ्चालन गरिएको र असोजको पहिलो सातादेखि गोदावरी र चाँगुनारायणमा पनि पसल खोलिने जानकारी दिइन्। यस वर्ष आन्दोलनका कारण खसीबोका आउने निश्चित नभएको पनि उनले बताइन्।
यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसनले पनि सुपथ मूल्यका पसलहरू सुरु गरेको छ। उनीहरूले आयोडिन नुन २४ रुपैयाँमा र दुई किलोको चिनी १९० रुपैयाँमा उपलब्ध गराएका छन्। यस वर्ष देशभर तीन दर्जन स्थानबाट सुपथ मूल्य पसलहरू सञ्चालनमा आएका छन्।
काठमाडौं उपत्यकामा कालीमाटी, सतुंगल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, काँडाघारी, इमाडोल र महाराजगञ्जमा पसलहरू खुलेका छन्। उपत्यकाबाहिर झापा, मोरङ, सप्तरी, सिरहा, धनुषा र पर्सामा पनि यी पसल सञ्चालनमा आएका छन्।