सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा सरकारलाई एनआरएनएले सहयोग गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
1.1k
Shares
काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जेन-जी आन्दोलनबाट क्षतिग्रस्त सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा सरकारलाई सहयोग गर्ने बताएको छ। यसै क्रममा, केही सञ्चारमाध्यममा आएका भ्रामक समाचारहरूको खण्डन गर्दै सङ्घले आफ्नो काम विशुद्ध सार्वजनिक हितमा केन्द्रित रहेको स्पष्ट पारेको छ।
एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठले सङ्घले 'नेपाल पुनर्निर्माण अभियान' घोषणा गरिसकेको जानकारी दिए। यस अभियानअन्तर्गत पहिलो चरणमा सुरक्षा संयन्त्रलाई बलियो बनाउन सहयोग गरिनेछ।
श्रेष्ठका अनुसार, शनिबार बस्ने कार्यसमितिको बैठकबाट 'ट्राफिक प्रहरी सीसीटीभी नियन्त्रण कक्ष पुनर्निर्माण' परियोजनालाई औपचारिक रूपमा अघि बढाइनेछ। यस परियोजनाको लागि करिब ७४ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।
श्रेष्ठले भने, "सडक सुरक्षा र निगरानी प्रणाली बलियो हुनु देशको शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएको कुरा हो। हामीले यसमा योगदान दिनु मातृभूमिप्रतिको हाम्रो दायित्व हो।"
एनआरएनएले काठमाडौँ उपत्यकाको ट्राफिक प्रहरी कार्यालयमा रहेका सीसीटीभी नियन्त्रण कक्ष, निगरानी प्रणाली र अन्य आवश्यक उपकरणहरूलाई पुनर्सञ्चालन गर्न सहयोग गर्नेछ।
सङ्घका प्रवक्ता गंगाधर गौतमले केही सञ्चारमाध्यमले एनआरएनएको नाम जोडेर व्यक्तिगत घर बनाउन पैसा उठाइएको भन्ने समाचारप्रति आपत्ति जनाएका छन्। उनले यस्ता समाचार पूर्णतया निराधार र भ्रामक रहेको बताए।
श्रेष्ठले यस्ता आधारहीन हल्लाको पछाडि कुनै सत्यता नरहेको र आफ्नो सङ्घको योगदान विशुद्ध सार्वजनिक हितमा केन्द्रित रहेको स्पष्ट पारे। उनले विपत्को समयमा सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिँदै अफवाह नफैलाउन आग्रह गरे।
एनआरएनएले भूकम्प, बाढी र महामारी जस्ता विगतका हरेक सङ्कटमा सरकारसँग सहकार्य गर्दै आएको र यस पटक पनि सोही निरन्तरतामा काम भइरहेको जनाएको छ।