चीन र अमेरिका मिलेर अघि बढे विश्व नै लाभान्वित : सी
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ४ शनिबार
2.2k
Shares
काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङले चीन र अमेरिका मिलेर अघि बढे दुवै देशमात्र होइन, विश्व नै लाभान्वित हुने बताएका छन् ।
उनले आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक फाइदामा आधारित सहकार्यमार्फत साझा समृद्धि हासिल गर्न सकिने उल्लेख गरेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शुक्रबार फोन वार्ताका क्रममा राष्ट्रपति सीले द्विपक्षीय सम्बन्ध र साझा चासोका विषयमा खुला र गहिरो छलफल भएको जानकारी दिए ।
उनले विश्वयुद्धताका चीन र अमेरिका सहयात्री रहेको स्मरण गर्दै इतिहासलाई सम्झन, शान्तिलाई कदर गर्न र भविष्यतर्फ अघि बढ्न दुवै पक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
वार्तामा राष्ट्रपति सीले अमेरिका-चीन सम्बन्धको रणनीतिक महत्व औंल्याउँदै हालै सम्पन्न परामर्शहरूले समानता, आपसी सम्मान र साझा फाइदाको भावना प्रस्ट्याएको बताए ।
उनले एकतर्फी व्यापारिक प्रतिबन्धबाट टाढा रहन अमेरिकी पक्षलाई आग्रह गर्दै, टिकटक मुद्दामा चीनको स्पष्ट धारणा दोहोर्याए । सीले अमेरिकी बजारमा चिनियाँ लगानीकर्ताका लागि निष्पक्ष र गैर-भेदभावपूर्ण वातावरण उपलब्ध गराउन पनि आग्रह गरे ।
उता, राष्ट्रपति ट्रम्पले चीनले युद्ध विजयको ८०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको सैनिक परेड “अद्भभूत र सुन्दर” भएको भन्दै प्रशंसा गरे ।
उनले अमेरिका-चीन सम्बन्धलाई विश्वकै सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध भनेका छन् ।
ट्रम्पले आर्थिक-व्यापारिक सहकार्य प्रवद्र्धन गर्ने, टिकटक विवाद समाधानका लागि परामर्शलाई निरन्तरता दिने र विश्व शान्तिका लागि चीनसँग सहकार्य गर्न तयार रहेको पनि बताए । एजेन्सी