arrow

चौधरी ग्रुपको पाँच अर्बको क्षति

अर्थमन्त्री खनाल चौधरी ग्रुपको सतुंगल कारखानामा, दियो क्षतिको विवरण

सरकारले निजी क्षेत्र पुनर्ताजकीकरणका लागि चाल्नुपर्ने कदमबारे दियो सात सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ४ शनिबार
rameshwor-khanal-cg-82-6-4.jpg

काठमाडौँ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनाल चौधरी ग्रुपको कारखाना र गोदाम हेर्न सतुंगल पुगेका छन् । निजी क्षेत्रका तर्फबाट गत भदौ २४ गतेको जेन–जी आन्दोलनका नाममा भएको आगजनीमा सबैभन्दा बढी क्षति चौधरी ग्रुपलाई भएको थियो । 

उक्त अतुलनीय क्षतिको निरीक्षणका लागि अर्थमन्त्री खनाल शनिबार आफ्नो टिमसहित सतुंगल गएका हुन् ।  उनलाई चौधरी ग्रुपले स्वागत गर्दै उक्त आगजनीबाट ध्वस्त भएको कारखाना र गोदाम देखाएको थियो । 

सो क्रममा चौधरी ग्रुपका तर्फबाट सम्वाद नोटसमेत प्रस्तुत गरिएको थियो । जसमा जेन आन्दोलनका क्रममा भएको युवा विद्यार्थी तथा सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु दुःखद भएको भन्दै यस्तो घटना कहिल्यै नदोहोरियोस् भनी कामना गरेको छ । 

त्यस्तै सो क्रममा चौधरी ग्रुपले सतुंगलमा रहेको इलेक्ट्रोनिक्सको कारखाना र गोदाममा आगजनी गरी भवन, मेसिनरी यन्त्र उपकरण, व्यावसायिक मौज्दात, सवारी साधन पूर्ण रूपमा क्षति भएको जानकारी दियो । त्यस्तै सीजी नेटको सर्भर तथा डाटा सेन्टरमा क्षति पुर्याइएको छ । त्यसैगरी सीजी मोटर्सको थापाथलीमा रहेको शोरुम तथा हरिसिद्धिमा रहेको सर्भिस सेन्टरमासमेत तोडफोड तथा आगजनी गरी क्षति पुर्याइएको जनाएको छ । 

साथै चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको निजी निवास रविभवन र बर्दघाटमा रहेको निवास तथा कार्यालयमा तोडफोड, लुटपाट र आगजनी गरी पूर्णरुपमा क्षति गरिएको छ । 

साथै रविभवन, विशालनगर लगायतका स्थानहरूमा रहेका इलेक्ट्रोनिक्स सामानका शोरुमहरु तोडफोड तथा लुटपाट भएका छन् । 

चितवनको भरतपुरमा रहेको सीजी ल्याण्डमार्क व्यावसायिक भवन तथा पसलहरुमा लुटपाट तथा तोडफोड गरिएको छ । सीजी एजुकेशनको जोरपाटीमा रहेको द चाँदबाग स्कूलमा लुटपाट, चोरी, तोडफोड तथा आगजनी गरिएको र विद्यार्थी ओसारपसार गर्ने बाँसबारीमा पार्किङ गरी राखेका ६ ओटा गाडीमासमेत आगजनी गरिएको छ । 

सतुंगलमा रहेको इलेक्ट्रोनिक्स डिभिजनमा मात्र प्रत्यक्ष एक हजार भन्दा बढीले रोजगारी पाइरहेका थिए भने हजारौँको संख्यामा अप्रत्यक्ष रोजगारी दिएको सीजीले जनाएको छ । 

यति ठूलो नोक्सानी हुँदाहुँदै पनि सीजीले कुनै पनि कर्मचारीलाई नहटाइने तथा दशैँ खर्च लगायत कुनै पनि सेवा सुविधामा कम गर्ने योजना नभएको जनाएको छ । 

सीजीले यो क्षतिको प्रारम्भिक अनुमान करिब पाँच सय करोड रहेको पनि जनाएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको भ्रमण

सीजीले चौधरी ग्रुपसँगसँगै अन्य व्यवसायीको पनि क्षति भएको भन्दै सरकारलाई तत्काल गर्नुपर्ने काममा सम्बन्धमा विभिन्न सुझाव दिएको छ । ती यस्ता छन् ।

१, व्यवसायिक लगानीको दीर्घकालीन औद्योगिक सुरक्षा योजनाको प्रत्याभूति गरिदिनुपर्ने । 

२, बीमाको यथाशिघ्र शतप्रतिशत दाबी भुक्तानीको व्यवस्था गर्नुपर्ने । 

३, क्षति भएका उद्योग व्यवसायका लागि एक वर्षसम्म ऋणको पुनर्तालिकीकरण एवं ऋणको ब्याज मिनाहा गर्नुपर्ने 

४, क्षति भएका उद्योग, कारखाना, गोदाम लगायतको निर्माण सामग्री तथा प्लान्ट मेसिनरीको पैठारीमा शतप्रतिशतमहसुल छुट सुविधा दिनुपर्ने । 

५, उद्योगको नाममा रहेका र पूर्णरुपमा क्षति भएका सवारी साधन त्यस्ता उद्योग व्यवसायले पैठारी गर्न चाहेमा महसुलमा छुट सुबिधा दिनुपर्ने । 

६, कम्पनीका हालसम्मका सम्पूर्ण खरिद बिक्रीसँग सम्बन्धित खातापाता तथा बिल भौचर जलेर नष्ट भएकाले कर परीक्षणका समयमा कम्पनीले उपलब्ध गराएका कागजातका आधारमा गरिदिनु पर्ने ।

र ७, सेजमा स्थापना हुने उद्योगले पाउने सरहको सुविधा अरु सेज बाहिर रहेका उद्योगलाई पनि प्रदान गर्दा उचित हुने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ