कास्की। जेन-जी आन्दोलनका क्रममा गण्डकी प्रदेशमा क्षति भएका सरकारी, व्यावसायिक र निजी संरचनाहरूको प्रारम्भिक अध्ययन तथा मूल्याङ्कन शुरु भएको छ। नेपाल इञ्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशले प्रदेश सरकारसँगको सहकार्यमा शनिबारदेखि यो अभियान थालेको हो।
नेपाल इञ्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशका सभापति सन्तोष जिसीका अनुसार, भदौ २३ र २४ गतेको प्रदर्शनमा आगजनीबाट क्षति पुगेका संरचनाहरूको प्रारम्भिक अवस्थाको अध्ययन 'र्यापिड भिजुअल ड्यामेज एसेसमेन्ट' अभियानअन्तर्गत भइरहेको छ। यसका लागि छ वटा छुट्टाछुट्टै इञ्जिनियरहरूको समूह गठन गरिएको छ।
प्रत्येक टोलीमा एक टोली नेता र पाँच जनासम्म सदस्यहरू छन्, जसलाई कार्यक्षेत्र र जिम्मेवारी तोकिएको छ। सभापति जिसीले भने, "यस अभियानले सरकारी भवनहरूको वास्तविक क्षतिको अवस्था उजागर गर्दै आगामी पुनर्निर्माण योजनाका लागि प्राविधिक आधार तयार गर्नेछ।"
सङ्कलन भएको तथ्याङ्क आगामी दिनमा पुनर्निर्माण, मर्मत र जोखिम न्यूनीकरणका लागि महत्त्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ। जेन-जी प्रदर्शनका क्रममा पोखरामा सबैभन्दा बढी क्षति भएको थियो, जहाँ मुख्यमन्त्री कार्यालय, प्रदेशसभा, मन्त्रालय, जिल्ला प्रशासन, मालपोत, जिल्ला अदालत लगायतका पाँच दर्जनभन्दा बढी कार्यालयमा आगजनी र तोडफोड भएको थियो। प्रदर्शनका क्रममा पोखरामा तीन जनाले ज्यान पनि गुमाएका थिए।