arrow

नौ महिनामा एक हजार जनालाई मृत्युदण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
iran-map.gif

काठमाडौं। इरानमा सन् २०२५ को सुरुदेखि हालसम्म नौ महिनामा कम्तीमा एक हजार जनालाई मृत्युदण्ड दिइएको गैरसरकारी संस्था इरान मानवअधिकार (आईएचआर) ले जनाएको छ। संस्थाले यसलाई 'भय सिर्जना गर्न चलाइएको सामूहिक मृत्युदण्ड अभियान' भनेको छ।

आईएचआरका अनुसार, गत हप्ता मात्रै ६४ जनालाई फाँसी दिइएको थियो, जुन दैनिक नौ जनाभन्दा बढीको औसत हो। यो सङ्ख्या सन् २००८ यताकै सबैभन्दा उच्च भएको बताइएको छ।

मानवअधिकारकर्मीहरूले पछिल्ला वर्षहरूमा भएका प्रदर्शन र इजरायलसँगको तनावपछि इरानले मृत्युदण्डको प्रयोग बढाएको बताएका छन्। आईएचआरका निर्देशक महमूद अमीरी-मोगहद्दमले अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक प्रतिक्रिया नआएकाले मृत्युदण्ड दिन-प्रतिदिन बढिरहेको बताए। उनले संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय निकायलाई यो प्रवृत्तिलाई मानवताविरुद्धको अपराधको रूपमा हेर्न आग्रह पनि गरेका छन्।

आईएचआरका अनुसार, मृत्युदण्ड दिइएकामध्ये करिब ५० प्रतिशत लागूऔषधसम्बन्धी अपराधमा संलग्न थिए। यस वर्ष मृत्युदण्ड पाउनेमध्ये २८ जना महिला छन्। उनीहरूमध्ये धेरैजसोले आफूलाई हिंसा गर्ने वा जबरजस्ती विवाह गरिएका श्रीमानको हत्या गरेको आरोपमा सजाय पाएका थिए।

एमनेस्टी इन्टरनेशनललगायतका संस्थाहरूले इरानलाई विश्वमा दोस्रो सबैभन्दा धेरै मृत्युदण्ड दिने देशका रूपमा सूचीकृत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ