चाडपर्वमा खाद्य वस्तुको गुणस्तर सुनिश्चित गर्न अनुगमन तीव्र [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
667
Shares
काठमाडौं । दशैँ र तिहार नजिकिएसँगै बजारमा अखाद्य वस्तुको बिक्री बढेको गुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनलाई तीव्र बनाएको छ। विभागकी महानिर्देशक डा. मतिना जोशी (वैद्य) ले देशभरका राजमार्ग, होटल, रेस्टुरेन्ट र बजारहरूमा अनुगमन भइरहेको जानकारी दिएकी छिन्। विभागले अनुगमनका क्रममा कैफियत भेटिएका व्यवसायीलाई निर्देशन दिनेदेखि जरिवाना गर्नेसम्मको कारबाही गरिरहेको छ।
महानिर्देशक वैद्यका अनुसार, अनुगमनबाट प्रशोधित पानीमा पुराना र फोहोर जारहरूको प्रयोग, होटल तथा रेस्टुरेन्टमा पुनः प्रयोग गरिएको तेल र सरसफाइको कमी, तथा दुधजन्य पदार्थ र अन्य खाद्य वस्तुमा मिसावट र अस्वस्थकर रङको अत्यधिक प्रयोग जस्ता समस्या देखिएका छन्। उनले उपभोक्ताले पनि गुणस्तरहीन जारलाई अस्वीकार गरेमा समस्या कम हुने बताएकी छिन्।
जोशीका अनुसार, मुलुक संघीय प्रणालीमा गएकाले अब तल्लो तहबाट पनि अनुगमन हुनसक्ने भएकाले खाद्य स्वच्छता कायम गरिनेछ। उनले दुई वर्षअघिसम्म २०२० सालको खाद्य ऐन रहेकोमा अहिले विश्व बजारको परिवेशलाई समेटेर गुणस्तर ऐन, २०८१ आइसकेको र यसले सम्पूर्ण खाद्य श्रृंखलामा नै स्वच्छता कायम गर्नुपर्ने भनेको बताएकी छिन्। उनले ऐनअनुसार विभागले प्रभावकारी हिसाबले काम गर्दै जाने पनि बताएकी छिन्।