लक्ष्मी सन्राईजको अगुवाइमा जलेश्वर जलविद्युत आयोजना निर्माणमा सहवित्तीयकरण सम्झौता
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
881
Shares
काठमाडौँ। लक्ष्मी सन्राईज बैङ्क लिमिटेडको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र दुधकोशी हाइड्रोपावर नेपाल प्रालि बीच ७० मेगावाट क्षमताको अर्धजलाशययुक्त दुधकोशी—२ (जलेश्वर) जलविद्युत आयोजना निर्माणका लागि लगानी गर्ने सम्झौता सम्पन्न भएको छ।
सोलुखुम्बु जिल्लामा दुधकोशी नदीमा निर्माण हुने सो आयोजनाको कुल लागत करिब १५ अर्ब रुपैयाँ रहनेछ। यस सहकार्यलाई नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि मानिएको छ।
यसअघि, दुधकोशी—२ (जलेश्वर) जलविद्युत आयोजनाले असोज ७, २०७७ मा विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमति प्राप्त गरेको थियो भने मङ्सिर ६, २०७८ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता समेत गरिसकेको छ।
आयोजनाको प्रमुख प्रवर्द्धकका रूपमा आयु मलुन हाइड्रोपावर लिमिटेड, कदम केसी, किरण मल्ल,अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न निजी इक्विटी भेन्चर पुँजीकर्ताहरू रहेका छन्।
आयोजना निर्माणका लागि लक्ष्मी सन्राईज बैङ्कको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैङ्कहरूले कुल लागतको ७० प्रतिशत (करिब १० अर्ब ५० करोड रुपैयाँ) लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम कम्पनीका प्रवर्द्धकहरूले जुटाउनेछन्। सहवित्तीयकरणमा एभरेस्ट बैङ्क सह–अगुवा बैङ्क र सानिमा बैङ्क सदस्य बैङ्कको रूपमा सहभागी रहेका छन्।
यो आयोजना सन् २०२९ जुलाई भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादनमा आउने लक्ष्य राखिएको छ। सो समयसम्म आयोजनाबाट वार्षिक करिब ४१७ गिगावाट–घण्टा विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा आपूर्ति हुने र दुधकोशी—२ आयोजना देशकै ठूलो स्वतन्त्र ऊर्जा उत्पादक परियोजनामध्ये एकका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।