नेपालीरिका होटेलले ५० करोडको साधारण सेयर (आइपिओ) निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २ शनिबार
159
Shares
काठमाडौँ। नेपालीरिका होटेल लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
पूर्वी नेपालको मोरङ जिल्लाको विराटचोकमा अवस्थित नेपालीरिका होटेल लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरका ५० लाख कित्ता सेयर निष्कासन गरी कुल ५० करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्ने तयारी गरेको छ।
यो सेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता पत्रमा नेपालीरिका होटेल लिमिटेडका अध्यक्ष भोलेश्वर दुलाल र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले माघ २९ गते नयाँ बानेश्वरस्थित क्यापिटलको कार्यालयमा हस्ताक्षर गरेका छन्।
कम्पनीका अनुसार यो कदमले होटेलको विकास तथा विस्तारमा सहयोग पुर्याउने, पारदर्शिता अभिवृद्धि गर्ने र नेपालको पर्यटन तथा आतिथ्य उद्योगको उन्नतिमा महत्त्वपूर्ण योगदान दिने विश्वास लिइएको छ। विशेष गरी मोरङ जिल्लामा लगानीका नयाँ अवसरहरू सिर्जना गर्ने लक्ष्य कम्पनीले राखेको जनाएको छ।
यो आइपिओ निष्कासनले नेपालीरिका होटेललाई थप मजबुत बनाउने र पर्यटन क्षेत्रको विकासमा नयाँ कोसे ढुङ्गा साबित हुने अपेक्षा गरिएको छ।