दशैँको मौकामा विमान कम्पनीद्वारा ब्रम्हलुट, टिकटको मूल्य ६८ प्रतिशतसम्म वृद्धि [भिडियो]
निकम्मा बन्याे नागरिक उड्डयन प्राधिकरण
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
634
Shares
काठमाडौँ । दशैँको समयमा मुख्य राजमार्ग अवरोध हुँदा आन्तरिक हवाई यात्रा गर्ने यात्रुको संख्या ह्वात्तै बढेको छ । जसका कारण टिकट बुकिङमा उच्च माग देखिएको छ ।
नेपालका प्रमुख एयरलाइन कम्पनीले ईन्धनको मूल्य वृद्धि र चाडपर्वका कारण चाप बढेको कारण देखाउँदै टिकटको मूल्य दर बढाउने गरेका छन् । घरेलु एयरलाइन्सले दशैँको समयमा यात्रुको उच्च मागलाई मध्यनजर गर्दै हवाई टिकटको मूल्यमा ५० देखि ६८ प्रतिशतसम्म वृद्धि गरेका छन् ।
दशैँको अवसरमा काठमाडौंँ-धनगढी उडानको टिकट मूल्य सात हजार पाँच सय रुपैयाँबाट बढेर १७ हजार रुपैयाँसम्म पुगेको छ । काठमाडौँबाट पोखरा उडानको टिकट १० देखि १५ हजारसम्म पुगेको छ ।
हवाई टिकटको न्यूनतमदेखि अधिकतमसम्मको मूल्य कानूनमा नै व्यवस्था गरिएको छ तर त्यसको पालना नहुँदा बर्सेनि यात्रु मारमा परेका छन् । यसले विशेषगरी विद्यार्थी, कर्मचारी र कम आय भएका यात्रुलाई मर्का पुगेको यात्रु बताउँछन् ।
काठमाडौँबाट नेपालगञ्जसम्मको यात्रा गर्दै गरेका उमेश पौडेलले सामान्य समयमा पाँच हजारमा यात्रा गर्ने गरेको भएपनि दशैँमा घर जाँदा यस पटक १३ हजार एक सयको टिकट किनेका छन् । देशका विभिन्न सडकमार्ग अवरुद्ध हँुदा बाध्यताले हवाई यात्रा गर्नु परेको उनी बताउँछन् ।
पौडेलले चर्को मूल्यमा टिकट लिन पनि समस्या भएको भन्दै जसोतसो गरी ट्रावल एजेन्सीको सहयोगबाट आफूले टिकट पाएको बताए ।
‘मैले टिकट एउटा ट्राभल एजेन्सीबाट फोनको भरमा पाएको हो । कसरी मिल्यो मलाई पनि थाहा छैन । मैंले जसोतसो गरेर पाए । यसको लागि समस्या नै भोग्नुपर्यो । तीन चार दिन लागेर टिकटको मूल्यमा पहिले र अहिलेमा लगभग सात हजारको दरले फरक पर्यो,’ उनले भने ।
सरकारले दशैँ, तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन नेपालका प्रमुख एयरलाइन कम्पनीलाई आग्रह समेत गरेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकतम् मूल्यभन्दा कम मूल्यमा टिकट बिक्री गर्न भनिए पनि कार्यान्वयन नभएको यात्रुको गुनासो छ ।
‘भर्खरै मेरो श्रीमती नेपालगञ्जबाट आउनु भएको थियो । आउँदा पाँच हजार छ सयमा टिकट पाइएको थियो । जाँदा चाहीँ १३ हजार एक सयको टिकट किनेर जाँदैछु । सरकारले अनुरोध गरेको कार्यान्वयन भएको छैन । त्यो भएको भए यस्तो हुँदैनथ्यो,’ पौडेलले भने ।
उनले सर्वसाधारण जनताको सहजका लागि सरकारले बाटोको अवरुद्ध हटाइ यात्रालाई सहज बनाउनुपर्ने बताए । उनका अनुसार मूल्य बढ्दा पैसा तिर्न सक्ने वर्गले मात्र हवाई मार्ग प्रयोग गर्नु परेको र न्यून आय हुनेहरू दशैँको दिनसम्म बसपार्कमा कुरिरहेने अवस्था छ ।
‘सरकारले सबैभन्दा पहिले बाटोको पहिरो पन्छाए अलि सजिलो हुने थियो कि । त्यसले पनि प्लेन टिकटको दर अलि कम हुने थियो । सायद सडकखण्ड अवरुद्ध भएर यता मानिसहरूको चाप यतातिर भएर सबैजना हवाई मार्ग रोजे त्यसैले सबै टिकटको मूल्य बढ्यो । यहाँ जसले पैसा तिर्न सक्यो उसले पायो, नपाउने अझै पनि बसपार्कमा कुरिरहेका छन्,’ उनले भने ।
यता, नेपाल नागरिक उड्डयन प्राधिकरण दशैँ, तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थालाई आग्रह गरेको भए पनि त्यो कार्यान्वयन भएको छैन् ।
सरकारले तोकेको अधिकतम् मूल्यभन्दा कम मूल्यमा हवाई टिकट बिक्री गरी यात्रुलाई राहत दिन सबै पक्षलाई अनुरोध गरिएको भए पनि रोकिने छाँट छैन् ।