arrow

माइत र मावल आवतजावत गर्नेलाई यातायात सेवा निःशुल्क

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
sankhuwasabha.png

सङ्खुवासभा । सङ्खुवा सभामा दशैँ-तिहारको अवसरमा युवाहरूले छोरीचेलीलाई माइत र मावल आवतजावतमा सहज बनाउन निःशुल्क यातायात सेवा शुरू गरेका छन् ।

जिल्लामा ‘दशैँतिहार चेलीलाई उपहार अभियान’ नाम दिइएको यो कार्यक्रम यही असोज १५ गतेदेखि शुरू गरिएको हो ।

माइत र मावल आवतजावतमा सहज बनाउन निःशुल्क यातायात सेवा शुरू गरिएको संयोजक मेघराज तोलाङ्गीले बताए ।

निःशुल्क सेवा दशैँको पूर्णिमासम्म उपलब्ध हुनेछ । माइत र मावल आवतजावतमा सहज बनाउने अभियानमा छ वटा मोटरसाइकल छन् ।

दुईवटा चारपाङ्ग्रे सवारी साधनमार्फत अहिलेसम्म दुई दर्जनभन्दा बढी छोरीचेलीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याइएको छ । शुक्रबार पनि बिहानैदेखि युवाहरूले छोरीचेलीलाई माइत मामल आवतजावत गराइरहेको संयोजक तोलाङ्गीले बताए ।

विशेषगरी गाउँघरमा सवारी साधनको पहुँच कम भएका र आर्थिक अवस्था कमजोर भएका परिवारलाई ठूलो राहत प्रदान गरेको उनको भनाइ छ । माइती-मावली सेवाको यो पहलले स्थानीयको मन जितेको छ ।

अभियानलाई समर्थन गर्न स्थानीय दाताहरूले युवालाई पेट्रोल भरिदिने र अन्य सहयोग प्रदान गर्ने गरेको संयोजक तोलाङ्गीले बताए ।

यो अभियानले सामाजिक उत्तरदायित्व र निःस्वार्थ सेवाको भावनालाई प्रोत्साहन गरेको छ । समुदायको साथ सहयोग पाउँदै गएको अभियानले यसवर्ष अझ बढी छोरीचेलीलाई सहज र सुरक्षित आवतजावत उपलब्ध गराउने अपेक्षा गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ