वीरगञ्ज । सरकारले तोकेको जिम्मेवारीको अलावा मानवीय मूल्य र मान्यता बुझेर कामकारबाही अगाडि बढाएकोमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्साका गुल्मपति पुरनचन्द्र भट्टको नगरवासीहरूले प्रशंसा गर्न थालेका छन् । छोटो समयमा नै मृदुभाषी व्यवहारका धनी भट्टले पर्सावासीको हृदयमा ठाउँ बनाउन सफल भएका छन्।
यस पटकको दशैँ सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको टिमले विभिन्न दलित बस्तीमा गएर मनाएको छ । भिष्वा नाकाको दलित बस्तीमा १०० जोर नयाँ लुगा दलित बालबालिकालाई वितरण गरी मासु–चिउराको भोज गरिएको थियो ।
त्यसैगरी दशमीको टीकाको दिन वीरगञ्ज महानगरपालिका वडा नं. १६ को दलित बस्तीमा बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरी त्यहाँका परिवारहरूलाई पनि मासु–चिउराको भोज खुवाइएको थियो।
अविरल वर्षासँगै वीरगन्जका विभिन्न वडाहरू डुबानमा पर्दा पनि सशस्त्र प्रहरीको भूमिकाको सबैले प्रशंसा गरे। १३ नं. गणका सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको नेतृत्वमा खटिएको टोलीले एक गर्भवती महिलालाई बचाएको समाचार राष्ट्रिय चर्चाको विषय बन्यो। यस पटकको अविरल वर्षाले निम्त्याएको संकटको बेला वास्तवमै मुलुकमा जिम्मेवार सरकार भएको अनुभूति नागरिकहरूले गर्न पाए। विपद् व्यवस्थापनमा सरकारका सम्पूर्ण सुरक्षा संयन्त्र तदारुकताका साथ खटिएका थिए।
केही दिनअघि सशस्त्र प्रहरी उपरीक्षक भट्टको प्रशंसा गर्दै भूमि आयोग पर्साका अध्यक्ष तब्रेज अहमदले वीरगन्ज महानगरपालिका वडा नं. १ लगायत सीमामा बसेर सीमाको सुरक्षामा खटिएका कैयौं नागरिक भूमि बिहीन रहेको विषयमा आयोगको ध्यानाकर्षण गराएको बताएका थिए।
सार्वभौमिकताको सवालमा सबैभन्दा बढी जिम्मेवार सीमा क्षेत्रमा बस्ने नागरिकहरू भएको र सीमाको रक्षामा दिनरात खट्ने भएकाले यो क्षेत्रका विपन्न दलित परिवारसँग यस पटकको दशैं मनाउन पाएकोमा आफूलाई सौभाग्यशाली महसुस गरेको गणपति भट्टको भनाइ रहेको छ।