दुई दिने प्राकृतिक विपद्मा परी कम्तीमा ५२ जनाको मृत्यु, पाँच बेपत्ता
इलाममा मात्रै ३७ सहित ५२ जनाको मृत्यु, ४७ जना घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
944
Shares
काठमाडौँ। गत शुक्रबार र शनिबारको अविरल वर्षा तथा त्यसपछि आएको बाढीपहिरोका कारण देशका विभिन्न जिल्लामा गरी हालसम्म ५२ जनाको निधन भएको छ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आज (मंगलबार) यसबारे जानकारी दिएको हो।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले दिएको जानकारीअनुसार विपद्का यी घटनामा ३९ जनाको ज्यान पहिरोमा परी गएको छ। पहिरोमा परी मृत्यु हुनेहरूमा इलाममा ३७, पाँचथरमा एक र काभ्रेपलाञ्चोकमा एक जना रहेका छन्।
त्यसैगरी, बाढीमा परेर ११ जनाको मृत्यु भएको छ। बाढीबाट उदयपुर र धनुषामा दुई-दुई जनाको ज्यान गएको छ भने इलाम, पाँचथर, खोटाङ, मोरङ, सुनसरी, रौतहट र भोजपुरमा एक-एक जनाको निधन भएको छ। रौतहटमा चट्याङबाट दुई जनाको निधन भएको कार्यकारी प्रमुख भट्टले बताए।
विपद्का यी घटनामा परी ४७ जना घाइते भएका छन्, जसमध्ये पहिरोबाट ३३ जना र चट्याङबाट १४ जना घाइते भएका छन्। हाल ५ जना बेपत्ता छन्, जसमा रसुवामा चार जना र इलाममा एक जना रहेका छन्। बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको र त्यसका लागि तीनवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) परिचालन गरिएको पनि कार्यकारी प्रमुख भट्टले बताए।