नोबेल साहित्य पुरस्कार हङ्गेरीका क्राज्नाहोर्काइलाई
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
1.1k
Shares
स्टकहोम । यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिले बिहीबार जनाएको छ ।
क्राज्नाहोर्काइलाई प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्ने उहाँका ‘प्रभावशाली र दूरदर्शी रचना’ का लागि पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कार समितिले जनाएको छ।
उनको जन्म सन् १९५४ मा दक्षिणपूर्वी हङ्गेरीको एउटा सानो सहरमा मध्यमवर्गीय परिवारमा भएको थियो । नोबेल पुरस्कार पाउने उनी हङ्गेरीका दोस्रा साहित्यकार हुन् । सन् २००२ मा इम्रे केर्टेस पनि उक्त पुरस्कारबाट सम्मानित भएका थिए ।
उनका कैयौँ कृति हङ्गेरियाली भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका छन् र उनका कृतिहरू अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्वीडिश भाषामा पनि छापिएका छन् ।
यस वर्षका लागि हालसम्म चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ। अब शान्ति र अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुन बाँकी छ। पुरस्कार आगामी डिसेम्बरमा वितरण हुने छ।
नोबेल पुरस्कारबाट सम्मानित भएपछि लेखकले स्विडेनी प्रसारक स्भेरिजेस रेडियोसँग भने, “म धेरै खुशी र शान्त छु । पुरस्कार पाएको समाचारले मलाई घबराहट महसुस भएको छ।”
उनले भने, “नोबेल पुरस्कार विजेताका रूपमा यो मेरो पहिलो दिन हो ।”
पुरस्कार समितिले १९८५ मा प्रकाशित क्रास्ज्नाहोर्काईको पहिलो उपन्यास, ‘सटाटान्गो’ ले उनलाई हङ्गेरीमा प्रख्यात बनाएको र यो त्यहाँ उनको सबैभन्दा प्रसिद्ध कृति बनेको जनाएको छ।
नोबेल एकेडेमीले उक्त कृतिलाई ‘साहित्यिक सनसनी’ भनेको छ।
एकेडेमीले भनेको छ, “क्रास्ज्नाहोर्काई काफ्कादेखि थोमस बर्नहार्डसम्म फैलिएको मध्य युरोपेली परम्परामा एक महान महाकाव्य लेखक हुनुहुन्छ । उहाँको सिर्जनामा बेतुकवाद र विचित्र ज्यादतीको विशेषता पाइन्छ।''