जलवायु परिवर्तन राष्ट्रिय सुरक्षाको मुद्दा: विपद्का घटनालाई सामान्य मान्नु खतरा [भिडियो]
प्राकृतिक प्रकोपका अस्वभाविक घटनालाई राष्ट्रिय सुरक्षासँग जोडेर अध्ययन गरिनुपर्छ
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
825
Shares
काठमाडौँ। नेपालमा मनसुनको अन्त्यतिर र पोस्ट–मनसुन अवधिमा अस्वाभाविक रूपमा बढिरहेका बाढी, डुबान र पहिरोका घटनाहरूलाई अब सामान्य वातावरणीय समस्याका रूपमा मात्र नहेरी जलवायु परिवर्तनको विज्ञान र राष्ट्रिय सुरक्षासँग जोडेर गम्भीर विश्लेषण गर्नुपर्ने आवाज उठेको छ। जलवायुविज्ञ डा. मञ्जित ढकाल ले विश्व तापमानको औसत वृद्धिदरले वातावरणीय सन्तुलनमा पारिरहेको असरलाई जलवायुसम्बन्धी विषयमा मात्र सीमित राखेर बहस गर्नुको अर्थ नरहने बताएका छन्।
डा. ढकालका अनुसार वैज्ञानिक अध्ययनहरूले गत वर्षको काठमाडौँको बाढीमा जलवायु परिवर्तनको प्रभाव १० प्रतिशत रहेको र यस्ता घटनाहरूको पुनरावृत्ति ७० प्रतिशतले बढ्ने देखाएको छ। उनले पृथ्वीको औसत तापमान १.५ डिग्री सेल्सियसले बढिरहेको हुँदा हरेक १० वर्षमा ठूला बाढी र खडेरीको आवृत्ति बढ्ने वैज्ञानिक प्रतिवेदनको लक्षण देखिन थालेको उल्लेख गरे। विपद् बढ्नुमा मानवीय क्रियाकलाप पनि उत्तिकै जिम्मेवार छ। विगत २५ वर्षमा काठमाडौँको जनसंख्यामा ३०० प्रतिशतले वृद्धि र सोही अवधिमा २८ प्रतिशत वन विनाश हुनु पनि वर्षा तथा बाढीजन्य विपद्को मुख्य कारण रहेको उनको भनाइ छ। यसले हामीले अपनाएको विकासको मोडलले पनि विपद्बाट हुने क्षतिमा वृद्धि गरेको देखाउँछ।
डा. ढकालले बाढी र पहिरोका घटनाले वर्षेनी ठूलो जनधनको क्षति पुर्याइरहेको सन्दर्भमा यस्ता विपद्लाई राष्ट्रिय सुरक्षाको मुद्दा बनाउनुपर्नेमा जोड दिएका छन्। उनले आगामी वर्षहरूमा यही अनुपातमा बाढी–पहिरोका घटना बढ्ने हो भने यो राष्ट्रिय सुरक्षाको गम्भीर चुनौती बन्ने खतरा औँल्याए। विपद् प्रतिकार्यका लागि सुरक्षा संयन्त्रसँग आवश्यक साधनस्रोत र प्रविधिको अभाव रहेको विषय हरेक वर्ष उठ्ने गरेको छ। उदाहरणका लागि, गत वर्ष त्रिशुलीमा खसेको बस र यात्रु खोज्नका लागि भारतबाट अत्याधुनिक प्रविधि सहितका गोताखोरको टोली मगाउनुपरेको थियो। यस चुनौतीको सामना गर्न र प्रतिकार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायको वार्षिक बजेटमा वृद्धि हुनुपर्ने उनको धारणा छ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार सन् २०११ देखि २०२४ सम्मको १४ वर्षको अवधिमा नेपालमा बाढी र पहिरोका घटनामा परी ३ हजार १०० जनाले ज्यान गुमाएका छन्, जसले प्रतिवर्ष २२२ जनाको मृत्यु भएको देखाउँछ। सन् २०२४ मा मात्र २५० जनाले ज्यान गुमाएका छन्। यसबाहेक बाढीले करिब १२ हजार र पहिरोले ६ हजार संरचनामा क्षति पुर्याएको छ।
दक्षिण एशियालाई वैज्ञानिक प्रतिवेदनहरूले जलवायु परिवर्तनको सबैभन्दा ठूलो 'हटस्पट' को रूपमा चित्रण गरेकाले, नेपालले अब जलवायुमैत्री विकास मोडल अवलम्बन गर्न जरुरी छ। क्षति न्युनिकरणका लागि विपद् पूर्वसूचना प्रणालीको विस्तार र व्यापकता सहित विपद् व्यवस्थापनमा पहिलो पङ्क्तिमा रहेर काम गर्ने सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा डा. ढकालले जोड दिएका छन्। साथै, जल तथा मौसम विज्ञान विभागलाई स्रोत, साधन र दक्ष जनशक्तिले प्रभावकारी बनाउनुपर्ने आवश्यकता उनले औँल्याएका छन्।