एनआरएनए स्थापना गर्दाका दुःख, यस्तो छ भीम उदासको अनुभूति [भिडियाे]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २५ शनिबार
1.8k
Shares
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्वभर बसोबास गर्ने नेपाली समुदायलाई एउटै छातामुनि ल्याउने, उनीहरूको अधिकार र हितको संरक्षण गर्ने तथा मातृभूमि नेपालसँगको सम्बन्ध बलियो बनाउने उद्देश्यले स्थापना गरिएको संस्था हो ।
यस संस्थाको स्थापना ११ अक्टोबर २००३ मा विश्वका विभिन्न देशमा रहेका नेपालीलाई एउटै मञ्च प्रदान गर्ने उद्देश्यले भएको हो । एनआरएनएको अवधारणा तयार पार्नेमध्येका एक भीम उदासले नेपाल संस्थाको यसको शुरूआती दिनका बारेमा विस्तृत जानकारी दिए ।
करिब ३२ वर्षअघि सन् १९९३ मा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) अन्तर्गत पहिलो कन्ट्री डाइरेक्टर भएर उदास अर्मेनिया पुगेका थिए । त्यसबेला अर्मेनियामा ठूलो भूकम्प गएर मुलुकको अवस्था क्षतविक्षत भएको थियो ।
सोही बेला युरोपेली संघले युक्रेनको न्यूक्लीयर प्लान्ट बन्द गराएको थियो र त्यही त्रासका कारण अर्मेनीयाले पनि आफ्नो प्लान्ट बन्द गराएको थियो र अर्मेनीयाको मुख्य आम्दानी पनि गुमेको अवस्था थियो ।
भूकम्पले गुम्बरी शहर पूरै ध्वस्त बनाएको थियो । त्यो भूकम्प त्यतिबेला गएको थियो जब आर्मेनिया अझै सोभियत युनियनको भाग थियो र मिखाइल गोर्बाचोभ सोभियत युनियनका नेता थिए । तर भूकम्पपछि त्यहाँ राहत र पुनर्निर्माणका प्रभावकारी काम हुन सकेनन् र त्यहाँका मानिसहरू ठूलो दुःखमा थिए । त्यसै समय आर्मेनिया र अजरबैजानबीच पनि युद्ध पनि शुरू भयो । भूकम्प र युद्ध दुबैको कारण देश मानवीय संकटमा फस्यो । त्यसपछि आर्मेनियाले संयुक्त राष्ट्रसंघसँग मानवीय सहयोगको लागि अपिल गर्यो र उदासपनि विश्व खाद्य कार्यक्रमको टोली लिएर त्यहाँ पुगे । त्यहाँ उनको मुख्य जिम्मेवारी युद्ध र भूकम्पबाट प्रभावित परिवारलाई खाद्य सामग्री वितरण गर्ने थियो ।
न्यूक्लीयर पावर बन्द भएपछि आर्मेनियामा बिजुली र पानीको आपूर्ति अनियमित थियो । बजारमा आवश्यक सामग्रीहरू भेटिन्थेनन् । खानपिनमा रोटी र मासु मात्रै उपलब्ध हुन्थ्यो । तरकारी, फलफूल वा अन्य खाद्य वस्तुहरू दुर्लभ भएका थिए । आर्मेनियामा एकखालको अन्धकार, अभाव र अनिश्चितता छाएको थियो । तर पनि विदेशमा रहेका आर्मेनियन डायसपोरा समुदायले आफ्नो मुलुकमा ठूलो मानवीय सहयोग गर्दै आएका थिए । उनीहरूले आफ्नो देशका पीडित नागरिकका लागि खाद्यान्न, लत्ताकपडा र आर्थिक सहायता निरन्तर पठाइरहेका थिए । त्यो कठिन समयको अनुभवले भीम उदासलाई पनि सिकायो कि जब एउटा राष्ट्र अचानक स्वतन्त्र हुन्छ, त्यतिबेला उसको पुनर्निर्माणका लागि मानवीय सहयोग र अन्तर्राष्ट्रिय एकताको भूमिका कति महत्वपूर्ण हुन्छ भनेर ।
नेपालबाट परराष्ट्र सेवामा कार्यरत रहँदै आर्मेनिया, जेनेभा, जोर्डन र मस्कोसम्म पुगेको अत्यन्त प्रेरणादायी अनुभव बटुलेका उनले विभिन्न मुलुकमा रहेर देखेका र महसुस गरेका तथ्यले अन्ततः विश्वभर छरिएका नेपालीलाई एउटै मञ्चमा ल्याउने विचार गरे । जसले अन्ततः ‘गैरआवासीय नेपाली संघ (एनआरएनए)’ को बीउ रोप्ने सोँच जन्मायो । आर्मेनियामा कार्यरत रहँदा उनले थाहा पाए कि देशभित्र करिब ३० लाख जनसंख्या हुँदा पनि विदेशमा ७० देखि ८० लाख अर्मेनियनहरू बसोबास गर्दै थिए । टर्किस साम्राज्य, सोभियत शासन र अन्य ऐतिहासिक संघर्षका कारण विस्थापित भएका ती आर्मेनियनहरू विश्वका विभिन्न देशमा पुगेका थिए । तर उनीहरू स्वाभिमानी, लगनशिल र मेहनती भएकाले जुनसुकै मुलुकमा पुगे पनि व्यापार, शिक्षा र सीपका माध्यमबाट सम्पन्न जीवन बिताइरहेका थिए र आफ्नो मुलुकमा समेत केही सहयोग गर्दै आएका थिए । देशभित्र सीमित स्रोतसाधन भएको आर्मेनियाको अर्थतन्त्र बाहिर रहेका नागरिकको रेमिटेन्स र दातृ निकायको सहयोगमा चलिरहेको उनले नजिकबाट अवलोकन गर्ने मौका पाए । युद्धग्रस्त र संशाधनविहीन देशमा पनि जनताको एकता र विदेशमा रहेका आर्मेनियनको सहयोगले देश पुनर्निर्माण सम्भव भएको देख्दा उनले गहिरो बोध गरे ‘देश बनाउन देशभित्रका मात्र होइन, देशबाहिरका नागरिकको भूमिका पनि अत्यन्त महत्वपूर्ण रहेछ ।’
पछिल्लो पटक जेनेभामा सरुवा हुँदा फेरि यस्तै परिदृश्य देखे, युरोपमा विस्तारै आर्थिक अवसर बढ्दै गर्दा पोर्चुगल, स्पेन, र पूर्वी युरोपबाट आएका श्रमिकहरूले रेमिटेन्समार्फत आफ्नो देशको अर्थतन्त्रलाई अझ बलियो बनाइरहेका थिए । जोर्डनमा रहँदा पनि उनले देखे कि सीमित स्रोतसाधन भएको सानो मुलुक जोर्डनमा पनि प्यालेस्टिनी र जोर्डनियनहरू विदेशमा गएर कमाएको रेमिटेन्सले अर्थतन्त्र धानेको थियो । पछि मस्को पुग्दा स्थिति झनै स्पष्ट भयो । सोभियत संघ विघटनपश्चात् शिक्षित र दक्ष नागरिक बेरोजगार भएका थिए । इन्जिनियर र आइटी विशेषज्ञसमेत घरायसी कामदार र चालकको रूपमा काम गर्न बाध्य थिए । उनले अनुमान गरेकि आज यो स्थिति रुसमा छ, भोलि नेपालमा पनि यस्तै हुन सक्छ । त्यसैले उनले रुसको राजधानी मस्कोमा रहेका केही शिक्षित र सफल नेपालीसँग छलफल गरे । सबैमा देशका लागि केही गर्नुपर्छ भन्ने भावना थियो । तर, शुरूमा रुसमा बस्ने नेपाली नेपाल र रुसबीच सीमित सञ्जाल बनाउने सोँचमा थिए । उनीहरूसँग उदासले आफ्नो धारणा राख्दै भने, ‘हामी संसारभर फैलिएका नेपाली हौँ, त्यसैले हाम्रो सोच पनि विश्वव्यापी हुनुपर्छ ।’
त्यसपछि उदासले नै विश्वभर रहेका नेपाली संघसंस्थासँग सम्पर्क विस्तार गरे । लन्डनमा यति नेपाल एसोसिएसन, अमेरिकामा एसोसिएसन अफ नेपलीज इन अमेरिका (एएनए) र जेनेभा, युकेका दूतावाससँग छलफल गरे । सबैको समर्थन पाएपछि उनले एउटा ‘अवधारणा पत्र’ तयार पारे । जसले पछि एनआरएनए (गैरआवासीय नेपाली) अभियानको रूप लियो ।
त्यो अवधारणामा उदासले एउटा महत्वपूर्ण बुँदा उठाए । त्यसबेला नेपाल सरकारको कर नियमावलीअनुसार विदेशी नागरिकले नेपालमा लगानी गर्न पाउने व्यवस्था थियो, तर विदेशमा बस्ने नेपालीले आफ्नो मातृभूमिमा बैंक खाता खोल्ने वा लगानी गर्ने अधिकार पाउँदैनथ्यो । उनले प्रस्ताव गरे, ‘यदि नेपाली वंशका विदेशी नागरिकलाई पनि विदेशी लगानीकर्ता सरह सुविधा दिइयो भने उनीहरूले देशमा रेमिटेन्समात्रै होइन, प्रत्यक्ष लगानी पनि गर्न सक्छन् ।’
त्यसरी शुरू भएको सोँच आज ‘गैरआवासीय नेपाली संघ (एनआरएनए)’ को रूपमा विश्वभरका नेपालीको साझा पहिचान बनेको छ । आर्मेनियादेखि मस्कोसम्मको यात्रामा प्राप्त अनुभवले आफूलाई मात्र होइन आज सम्पूर्ण नेपाल र नेपालीलाई समेत देशभित्रका मात्र होइन, बाहिर रहेका नेपाली पनि राष्ट्र निर्माणका महत्वपूर्ण आधार स्तम्भ हुन भन्ने कुरा देखाएको उनले बताए । एनआरएनएको जग बसाल्ने प्रयास कुनै एक दिनको प्रयास नभएको भन्दै उनले भने, ‘यो यात्रा विभिन्न देशका समर्पित नेपालीहरूको अथक परिश्रम, छलफल र साझा दृष्टिकोणको परिणाम हो । सोभियत संघ विघटनपश्चात् पूर्वी युरोपका मुलुकमा रहेका नेपालीले नेपाल र विदेशबीच आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्ने साँचबाट शुरू गरिएको अभियानले अहिले विश्वव्यापी रुप लिएको छ ।’
त्यो समय मस्कोमा कार्यरत केही शिक्षित, दक्ष र राष्ट्रप्रेमी नेपालीको समूहले विदेशमा रहेका नेपालीलाई एउटै संस्थागत छातामुनि ल्याउने सोँच बनाएको अनुभव उनले सुनाए । प्रारम्भिक छलफल डिप्लोमेटिक एरियास्थित आवासीय क्षेत्रमा भइरहेका थिए, जहाँ बेलुकी वा बिदाको दिन साथीहरू जम्मा भएर भोजन, रमाइलो र नेपालबारे गहिरा चर्चा गर्ने गरेको उनको अनुभव छ । त्यो समूहमा डा उपेन्द्र महतो, जीवा लामिछाने, घनश्याम राजभण्डारी, डा बद्री केसी, डा. जुगल भुर्तेल, कृष्ण रिजाललगायत अन्य १०-१२ जना सक्रिय सदस्य थिए । डा.उपेन्द्र महतो त्यसबेला बेला रुसमा व्यवसायमा सक्रिय थिए । उनले स्थापना गरेको रुस-नेपाल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजमार्फत प्रारम्भिक बैठक पनि त्यहीँबाट सञ्चालन गरिन्थ्यो ।
कुराकानीका क्रममा उदासले सुनाए, ‘गैरआवासीय नेपालीको पहिलो ठूलो सहभागिता देखिएको कार्यक्रम भनेको मस्कोमा मनाइएको दशैं थियो । करिब एक दशकपछि त्यहाँका नेपालीले मिलेर पहिलोपटक संयुक्त रूपमा दशैं मनाएका थिए । यो उत्सवले नेपाली समुदायबीच आत्मीयता र सहकार्यको नयाँ ढोका खोल्यो,’ त्यसपछि सोभियत संघ विघटनपछि विभिन्न गणतन्त्रहरूमा रहेका नेपालीको नाम, ठेगाना र सम्पर्क विवरण संकलन गरेर टेलिफोन डाइरेक्टरी तयार पारियो, जसले आपसी सम्पर्क सहज बनायो । उक्त पहलका संयोजक इन्टरनेसनल कोअर्डिनेटरका रूपमा कार्यरत उदास आफैं थिए । युएनको नीति अनुसार उनी संस्थाको औपचारिक पदमा रहन नसके पनि उनले समन्वय र रणनीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरे । संघको नेतृत्वका लागि योग्य व्यक्ति छनोट गर्ने क्रममा डाक्टर उपेन्द्र महतोलाई सबैले एकमतले अघि सारे । उनमा संगठनात्मक क्षमता, स्रोत, समय र अन्तर्राष्ट्रिय पहुँचसमेत रहेकाले उनलाई संस्थाको पहिलो नेतृत्वको रूपमा स्वीकार गरिएको थियो । सन २००२ डिसेम्बरमा काठमाडौँमा सुरज वैद्यसँग भएको भेटले संस्थागत संरचना तयार गर्ने अभियानलाई औपचारिकता दिएको उनले बताए । त्यतिबेला वैद्यले भारतमा आयोजित ‘प्रवासी भारतीय दिवस’ को अनुभव सुनाउँदै नेपालमा पनि यस्तै सम्मेलन गर्न सुझाव दिएका थिए ।
त्यसपछि फेब्रुअरी २००३ मा उपेन्द्र महतो, जीवा लामिछाने र भी उदास काठमाडौँ पुगे र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का तत्कालीन अध्यक्ष विनोददास श्रेष्ठ, डीजी बद्री ओझा र सुरज वैद्यसँग विस्तृत छलफल गरे । तत्कालीन उद्योग वाणिज्यमन्त्री महेशलाल प्रधानसँगको भेटपछि सरकारले पनि नेपालमा आयोजना हुने सम्मेलनमा सहकार्य गर्ने निर्णय गरेको उनले सुनाए । यसरी त्यसबेला सरकार, एफएनसीसीआई र एनआरएनएबीच त्रिपक्षीय सहकार्यमा पहिलो पटक विश्व सम्मेलन आयोजना गर्ने सहमति बनेको थियो । तयारीको क्रममा लन्डनमा यति नेपाल एसोसिएसनका अध्यक्ष डा.राघव धितालको समन्वयमा विश्वभरका नेपाली प्रतिनिधि-क्यानाडाबाट कुञ्जर शर्मा, जर्मनीबाट रामप्रताप थापा, अस्ट्रेलियाबाट दीपक खड्का, मध्यपूर्वबाट देवकाजी डंगोललगायतका साथी जम्मा भई सम्मेलनको मिति तय गरियो । अन्ततः अक्टोबर ३, २००३ मा ४ दिनसम्म काठमाडौँको सोल्टी होटेलमा पहिलो पट्क एनआरएनएको विश्व सम्मेलन सम्पन्न भयो । माओवादी द्वन्द्व र असुरक्षाको वातावरणबीच पनि ३२ मुलुकबाट २३० जना एनआरएन प्रतिनिधि र नेपालबाट करिब दुई सय ५० जनाको सहभागिता थियो ।
झन्डै पाँच सय जनाको उपस्थितिमा सम्पन्न उक्त सम्मेलनले पहिलो पटक विश्वभरका नेपालीहरूको साझा पहिचान र आवाजलाई औपचारिक रूप दिएको उनी बताउँछन् । पछि सन् २००७ को सम्मेलन पश्चात् उदासलाई संस्थाको महासचिव चुनिएको थियो । त्यसअघि उनी संयोजकको रुपमा काम गर्दै आएका थिए । यसरी, मस्कोको एउटा सानो बैठकबाट शुरू भएको यो अभियान आज विश्वका ८७ भन्दा बढी मुलुकमा फैलिएको छ । संस्थाको २२ वर्ष लामो यात्रालाई सम्झदै उदास भन्छन् ‘एनआरएनए केवल विदेशमा रहेका नेपालीहरूको संस्था होइन, यो नेपालप्रतिको समर्पण, एकता र मातृभूमिप्रतिको प्रेमको मूर्त रूप पनि हो ।