भोजपुर । भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुँडा बनाउने परम्परागत 'चुदारा पेशा' अस्तित्वको सङ्कटमा परेको छ। नयाँ पुस्ताले यो पेसाप्रति चासो नदेखाउँदा र बजारमा प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढ्दै जाँदा पुस्तौंदेखिको यो सीप लोप हुने अवस्थामा पुगेको हो।
चुदारा पेसामा लामो समयदेखि संलग्न स्थानीय रत्नबहादुर विश्वकर्माले विगतमा धेरै मानिस यस पेसामा आबद्ध भए पनि अहिले सीमित व्यक्तिले मात्र परम्परा धानिरहेको बताए। उनले भने, "यो हाम्रो पूर्खौली पेसा हो तर अहिले सङ्कटमा परेको छ। पुस्तान्तरण नहुँदा र राज्यको ध्यान नपुगेकाले लोप हुने अवस्थामा पुगेको छ।"
चुदारा समुदायका मानिसहरूले गाउँघरमा पाइने गोगुन, पँयू, दार, मौवा, कटहरजस्ता काठबाट गोलिया तयार गरी फलामको धारिलो हतियार 'बाँक' प्रयोग गरेर ठेकी, हर्पे, तोङ्बाको भाँडो, गम्बुलगायतका सामग्रीहरू बनाउँछन्। उनीहरूले काठलाई आकार दिन अझै पनि परम्परागत विधि अपनाउँछन्, जसमा खोलाबाट पानी डुँढमा खसालेर काठ घुमाउने र त्यसपछि हातले यन्त्र चलाएर कुद्ने शैली प्रयोग हुन्छ।
चुदाराको काम गर्दै आएका स्थानीय जङ्गबहादुर विकले परम्परागत उपकरणले काम गर्दा धेरै श्रम र समय खर्चिनुपर्ने भएकाले जीविका चलाउनसमेत कठिन भएको बताएका छन्। उनले भने, "हामी अझै पनि बाउबाजेले जसरी काम गर्थे, त्यही विधिमा काम गर्छौं। आधुनिक उपकरण प्रयोग गर्न पाएको भए काम सजिलो र आकर्षक हुन्थ्यो।"
विकका अनुसार, पहिले गाईभैँसीको दूध जमाउन, मोही पार्न अनिवार्य रूपमा प्रयोग हुने काठका सामग्रीहरूलाई अहिले स्टिल र प्लास्टिकका भाँडाले विस्थापित गरिरहेका छन्। उनले यो पेसा संस्कृति र पहिचानसँग जोडिएको भन्दै सरकारले तालिम र प्रविधिको सहयोग गर्नुपर्ने र तब मात्र नयाँ पुस्ता आकर्षित हुने बताए।
उचित संरक्षण, आधुनिक उपकरणको प्रयोग र बजार प्रवद्र्धनका उपाय अपनाउन सकेमा यो परम्परागत सीपले सांस्कृतिक पर्यटन र रोजगारीको नयाँ बाटो खोल्न सहयोग पुग्ने यो पेसामा आबद्धहरूको भनाइ छ।