छ लाख मेट्रिक टन मल आयातको लक्ष्य: पौने पाँच लाख मेट्रिक टनको टेन्डर, हिउँदे खेतीका लागि मल पर्याप्त
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
659
Shares
काठमाडौँ । चालू आर्थिक वर्षका लागि कूल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकामा हालसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको बोलपत्र (टेन्डर) आह्वान भएको छ। किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउने लक्ष्यअनुसार सरकारले आवश्यक प्रबन्ध मिलाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्पष्ट पारेको छ।
रासायनिक मल आयातका लागि सरकारले यस वर्ष रु २८ अर्ब ८२ करोड १४ लाख बराबरको बजेट विनियोजन गरेको छ।
मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार, गत असोज मसान्तसम्म एक लाख ९४ हजार ८५ मेट्रिक टन मल आपूर्तिको चरणमा छ, जसमा कृषि सामग्री कम्पनीको यूरिया ३३ हजार ३३८ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनको ५७ हजार ६७० मेट्रिक टन बराबरको मल रहेको छ। कृषि सामग्री कम्पनीले यूरिया र डीएपीसमेत गरी कूल एक लाख १५ हजार ४०५ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनले ७८ हजार ६८० मेट्रिक टन बराबरको मल आपूर्ति गरिसकेका छन्।
मन्त्रालयका अनुसार, हाल एक लाख आठ हजार ९०८ मेट्रिक टन मल मौज्दात रहेको छ। यसमा कृषि सामग्री कम्पनीमा डीएपी, यूरिया र पोटास समेत गरी कूल ६३ हजार आठ सय मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनमा ४५ हजार १०८ मेट्रिक टन बराबर रासायनिक मल मौज्दात छ। मन्त्रालयले मौज्दातको अवस्था हेर्दा हिउँदे खेतीलाई पर्याप्त मात्रामा रासायनिक मल रहेको दाबी गरेको छ। गत साउनदेखि असोज मसान्तसम्म एक लाख ३२ हजार ८०७ मेट्रिक टन मल बिक्री भएको मन्त्रालयले जनाएको छ।