'उदीयमान राष्ट्रहरूको ऋण र वित्तीय असुरक्षाले विश्व व्यापार प्रणाली खतरामा'
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
2.2k
Shares
काठमाडौँ । उदीयमान राष्ट्रहरूको बढ्दो ऋण, भारी कर र वित्तीय असुरक्षाका कारण नियममा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणाली खतरामा परेको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले बुधबार चेतावनी दिएका छन्।
जेनेभामा व्यापार र विकाससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा बोल्दै महासचिव गुटेर्रेसले धेरै देशहरू ऋणको सङ्कटमा फसेको र स्वास्थ्य र शिक्षामा भन्दा ऋण दाताहरूको सेवामा बढी रकम खर्च गरिरहेको बताए। उनले भने, “विश्वव्यापी ऋण बढेको छ। गरिबी र भोकमरी अहिले पनि व्याप्त छ। अन्तर्राष्ट्रिय वित्तीय संरचनाले विकासोन्मुख देशहरूका लागि पर्याप्त सुरक्षा कवच प्रदान गरिरहेको छैन र नियममा आधारित व्यापार प्रणाली गलत बाटोमा जाने जोखिममा छ।”
गुटेर्रेसले भूराजनीतिक विभाजन, असमानता, द्वन्द्व र जलवायु सङ्कटले विश्वव्यापी प्रगतिलाई सीमित बनाइरहेको बताए। उनले विश्वव्यापी वृद्धिको तीन चौथाइ हिस्सा अहिले विकासशील देशबाट आएको, सेवाजन्य व्यापारमा वृद्धि भइरहेको र नयाँ प्रविधिले विश्व अर्थतन्त्रलाई बढावा दिइरहेको अवस्थामा समेत यी चुनौतीहरू देखा परेको उल्लेख गरे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अन्य देशहरूमाथि व्यापक कर वृद्धि गरेको विषयलाई सङ्केत गर्दै गुटेर्रेसले संरक्षणवाद केही परिस्थितिमा अपरिहार्य हुन सक्ने भए पनि त्यो तर्कसङ्गत हुनुपर्नेमा जोड दिए।
उनले अनिश्चितता बढिरहेको, लगानी घट्ने र आपूर्ति श्रृङ्खलामा उथलपुथल मच्चिएको भन्दै विकासोन्मुख देशहरूमा ‘छोटो–छोटो परिवर्तन’ जारी रहेको चेतावनी दिए। उनले व्यापार अवरोधहरू बढिरहेको र केही कम विकसित देशहरूले ४० प्रतिशतको करको सामना गरिरहेको बताए, जबकि उनीहरूको विश्वव्यापी व्यापार प्रवाहमा एक प्रतिशत मात्र प्रतिनिधित्व रहन्छ। उनले चेतावनी दिँदै भने, “हामी वस्तुका लागि व्यापार युद्धको बढ्दो जोखिम देख्छौँ। सैन्य खर्चको प्रवृत्तिले हामी जनताको समृद्धि र कल्याणमा भन्दा मृत्युमा बढी लगानी गरिरहेका छौँ भन्ने देखाउँछ।”
यी खतराहरूको सामना गर्न उनले अन्तर्राष्ट्रिय कार्यका लागि चार प्राथमिकताहरू औँल्याए: निष्पक्ष विश्वव्यापी व्यापार र लगानी प्रणाली, विकासशील देशहरूको लागि वित्तीयकरण, अर्थतन्त्रलाई प्रोत्साहित गर्न प्रविधि र नवीनता, र जलवायु उद्देश्यहरूसँग व्यापार नीतिहरू संरेखित गर्नुपर्ने।