arrow

१७ औँ काठमाडौँ म्याराथन कार्तिक १५ गते, १३ विधामा तीन हजार खेलाडी प्रतिस्पर्धामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ८ शनिबार
17th-kathmandu-marathon-1at-nov.jpg

काठमाडौँ । विगत १९ वर्षदेखि निरन्तर आयोजित नेपालकै सबैभन्दा पुरानो र ठूलो अन्तर्राष्ट्रिय स्तरको काठमाडौँ म्याराथनको १७ औँ संस्करण कार्तिक १५ गते शनिबार हुने भएको छ । 

एनआरएस स्पोर्टस फाउन्डेसन द्वारा आयोजित  सिद्धार्थ बैंक १७ औँ काठमाडौँ म्याराथन कार्तिक १५ गते हुन लागेको हो । उक्त प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । 

यस वर्ष १३ विधा समावेश गरिएको छ । जसमा म्याराथनमा  ४२.१९५ (किमी) खुला, ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि  समावेश गरिएको छ । 

त्यस्तै हाफ म्याराथनमा खुला,  ४० वर्षमाथि र ५० वर्षमाथि समावेश गरिएको छ । १० किलोमिटर खुला र मास्टर्स, ५ किलोमिटर खुला तथा ३ किलोमिटर खुला, स्कूल रन र फेमेली रन  समावेश गरिएको छ ।

कार्तिक १ गते खेलाडी दर्ता बन्द गरिएको थियो । तीन हजार भन्दा बढी खेलाडीहरूले आफ्नो नाम दर्ता गरिसकेका छन् । यस दौडमा २६ राष्ट्रका १०६ जना अन्तर्राष्ट्रिय खेलाडीहरूले आफ्नो नाम दर्ता गरिसकेका छन् । उनीहरू केही दिनमै आउँदैछन् । 

यस वर्ष खेलाडीहरुको प्रोत्साहनार्थ दौड पूरा गर्ने सबै धावकहरुले फिनिसर्स मेडल प्राप्त गर्नेछन् ।  विजयी खेलाडीहरुले प्रमाणपत्र र  मेडल, नगद पुरस्कार तथा उपहारहरू प्राप्त गर्नेछन् । 

सिद्धार्थ बैंक १७ औँ काठमाडौँ म्याराथनको मुख्य प्रायोजक सिद्धार्थ बैंक रहेको छ भने अरु प्रायोजकमा क्याथे प्यासिफिक, हुवावे, डीपैसा, सजिलो, सुजल डेरी, अथर, नेक्सो, नेक्टर स्पा, हिमाल बेकरी, जार/पूर्ण वाटर रहेका छन् । 

यस काठमाडौँ म्याराथनको रुट  दशरथ रंगशाला त्रिपुरेश्वरदेखि थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, ग्वार्को, कोटेश्वर जडीवुटी, कौशलटार चोक, सूर्यविनायक, भक्तपुर दरवार स्क्वायर, बोडे, सानो ठिमी, तीनकुने, पशुपतिनाथ, गौशाला, चाबेल, माहाराजगञ्ज, पानीपोखरी, केशरमहल, भद्रकाली , सुन्धारा हुँदै दशरथ रंगशाला त्रिपुरेश्वर गरी ४२.१९५ किमी समाप्त हुने छ । 

म्याराथन ४२.१९५ रेस बिहान ठीक ५:३० बजे शुरू हुनेछ र त्यसपछि प्रत्येक ५ मिनेटको अन्तरालमा अन्य रेसहरू हुनेछन् ।

यस रेसलाई नेपाल एथलेटिक्स संघको मान्यता रहेको छ र राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृतिको साथै दशरथ रंगशाला उपलब्ध गराएको छ । नेपाल पर्यटन बोर्डको पनि प्रबर्धन रहेको छ । 

काठमाडौँ, ललितपुर, भक्तपुर, मध्यपुर ठिमी तथा सूर्यविनायक नगरपालिकाको पनि साथ रहेको आयोजकले जनाएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर तीनै जिल्ला प्रशासन कार्यलयबाट पनि स्वीकृति प्राप्त गरिसकेको छ । 

यस दौडको टी–शर्ट र बिब कार्तिक ११ र कार्तिक १२ गते सातदोबाटोस्थित नेपाल स्क्वास र र्याकेट संघको प्राङ्गणमा वितरण हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ