राँझा (बाँके)। बाँके क्षेत्रका किसानहरूद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा बढ्दै गएको पाइएको छ। नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गरिएको नमुना परीक्षणका क्रममा गत आर्थिक वर्ष २०८१/८२ मा १० किसिमका तरकारीमा विषादीको मात्रा अत्यधिक फेला परेको छ।
प्रयोगशालाका नायब प्राविधिक सहायक गौरव चौधरीका अनुसार, कैफियत पाइएका दशवटै नमुनाहरू बाँके जिल्लाकै उत्पादन हुन्। तीमध्ये नौ वटा रायो, माटे र सम्धिनीलगायतका सागमा तथा एउटा बोडीको नमुनामा विषादीको मात्रा अत्यधिक भेटिएको थियो। चैतमा तीन, वैशाखमा पाँच, जेठमा एक र असारमा एउटा नमुनामा कैफियत देखिएको थियो र ती दशवटै नमुना परीक्षण गर्दा ‘रेड लेबल’ (उपभोग गर्न नमिल्ने) पाइएको चौधरीले बताए।
प्रयोगशालाले तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षणमा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत भएमा 'ग्रीन लेबल' (उपभोग गर्न मिल्ने), ३५ देखि ४५ प्रतिशत भएमा 'यल्लो लेबल' (क्वारेन्टिनमा राखेर पुनःपरीक्षण गर्नुपर्ने) र ४५ प्रतिशतभन्दा माथि भएमा 'रेड लेबल' (उपभोग गर्न नमिल्ने) भनेर कैफियत लेख्ने गर्दछ। प्रयोगशालामा भारतबाट आयातीत ४१३, सल्यानका २७३, बाँकेका ९६२ लगायत विभिन्न जिल्लाका नमुना परीक्षण हुने गरेको छ।
चौधरीका अनुसार, अघिल्लो आर्थिक वर्षमाभन्दा गत आर्थिक वर्षमा तरकारी तथा फलफूलजन्य वस्तुको नमुना बढी मात्रामा परीक्षण भएसँगै विषादी पाइने सङ्ख्यामा पनि वृद्धि भएको छ। गत आर्थिक वर्षमा १ हजार ८८३ वटा नमुना परीक्षण हुँदा १० वटा नमुनामा कैफियत पाइएको थियो, जबकि अघिल्लो आर्थिक वर्षमा १ हजार ९४ नमुना परीक्षण हुँदा सात वटामा कैफियत पाइएको थियो। उनले परीक्षणको दायरा बढेसँगै कैफियतमा पनि केही वृद्धि भएको बताएका छन्।
यद्यपि, चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४८२ वटा तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण गरिएकोमा भने कुनै पनि कैफियत नपाइएको चौधरीले बताए। प्रयोगशालामा 'अर्गानोफस्फेट' र 'कार्बामेट' गरी दुई वटा विषादी समूहको परीक्षण हुने गर्दछ। नेपालगञ्जबाट २०७९ मङ्सिरदेखि तरकारी तथा फलफूलजन्य वस्तुको विषादी नमुना परीक्षण सुरु गरिएको हो।