arrow

छ महिनापछि अरुण नदीको फेरी सेवा पुनः सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
arun-river-feri.jpg

भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा छ महिनापछि पुनः सञ्चालनमा आएको छ। वर्षात्का कारण गत जेठ महिनादेखि बन्द रहेको यो फेरी सोमबारदेखि सञ्चालनमा ल्याइएको हो।

अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा सवारीसाधन तथा दैनिक उपभोग्य वस्तुको ढुवानीका लागि फेरीकै भरमा रहँदै आएका छन्। वर्षात्को समयमा नदीको बहाव तीव्र भएपछि पाँच महिनाअघिबाट फेरी सञ्चालन बन्द गरिएको थियो।

फेरी सञ्चालन बन्द हुँदा जिल्लाको उत्तरी क्षेत्रका यात्रु र स्थानीयले आवतजावतमा ठूलो कठिनाइ भोग्दै आएका थिए। स्थानीयले झोलुङ्गे पुलमार्फत पिँठ्यूमा बोकेर खाद्यसामग्री तथा आवश्यक वस्तु ओसार्न बाध्य भएका थिए।

स्थानीयवासी दिपेन्द्र श्रेष्ठले फेरी पुनःसञ्चालनसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दालाई निकै सहजता भएको बताएका छन्। उनले भने, "पाँच महिनापछि फेरी सञ्चालनमा आउँदा निकै सहज भएको छ, फेरी नचल्दा हाम्रो दैनिकी निकै कष्टकर हुन्थ्यो।"

विसं २०७६ देखि सञ्चालनमा आएको यो फेरी हालसम्म उत्तरी क्षेत्रका लागि प्रमुख यातायात पार गर्ने माध्यम बनेको छ। स्थानीयले यहाँ पक्की पुल बने सधैँका लागि समस्या अन्त्य हुने आशा व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ