arrow

समृद्धिको बाटोमा हिमाली गाउँपालिका

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
himali-gaunpalika-bajura.jpg

बाजुरा । पहिले दुर्गम, पहुँचविहीन र विकासको लहरबाट टाढा रहेको बाजुराको हिमाली गाउँपालिका आज विकास र समृद्धिको उदाहरण बन्न पुगेको छ । हिमाली गाउँपालिकाले पछिल्लो समय विकटताको पर्खाल तोड्दै समग्र रूपमै रूपान्तरणको यात्रा अघि बढाएको छ ।

अब गाउँका बासिन्दाले सडक, बिजुली, खानेपानी, इन्टरनेट, स्वास्थ्य, शिक्षा र कृषि जस्ता पूर्वाधारहरूको सेवा घर-दैलोमै पाउन थालेका छन् । स्थानीयहरूले विकासको प्रत्यक्ष अनुभूति गर्न थालेका छन् । पहिले हिँडेर दिनभर लाग्ने बाटो अहिले मोटरबाटोले जोडिएको छ ।

गाउँपालिकाका ४, ५, ६ र ७ नम्बर वडामा सडक सञ्जाल पुगेको छ भने बाँकी १, २ र ३ वडामा पनि सडक विस्तारका काम तीव्र गतिमा भइरहेको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए ।

उनका अनुसार ‘उज्यालो हिमाली’ अभियानअन्तर्गत कादुरी संस्थाको सहयोगमा १४ करोड रुपैयाँ लागतमा बिजुली उत्पादन गरिएको छ । जसले अधिकांश वडामा घर-घरमा बत्ती बाल्ने सपना साकार गरेको छ ।

अहिले क्युडी गाउँबाहेक सबै वडामा बिजुली पुगेको छ । सञ्चार पहुँचमा पनि ठूलो सुधार आएको छ, समग्रमा पालिकामा पछिल्लो समय विकासले राम्रो गति लिएको अध्यक्ष मल्ले सुनाए ।

सबै वडामा इन्टरनेट सेवा विस्तार भएको छ र करिब १३-१४ वटा स्वास्थ्य चौकीमा पनि फोरजी इन्टरनेट सेवा जडान गरिएको छ । हिमाली गाउँपालिकाले प्राङ्गारिक र व्यवसायिक कृषि विकासमा विशेष जोड दिएको छ । ६० हजारभन्दा बढी बिरुवा रोपिएकामध्ये ३३ हजार बोटले फल दिन शुरू गरेका छन् ।

स्याउ, दाँते ओखर, कागती र अनारजस्ता नगदे बाली खेतीको विस्तार भएको छ । कृषकका उत्पादन बजारसम्म पुगोस् भनेर कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । साथै, उत्पादनको प्रशोधन र बजारीकरणका लागि दुई सय टन क्षमताको शीत भण्डारण गृह निर्माण गरिएको छ ।

स्वास्थ्य र शिक्षा सेवाको पहुँच पनि उल्लेखनीय रूपमा सुधारिएको छ । गाउँपालिकाभर १३-१४ वटा स्वास्थ्य चौकी स्थापना भएका छन् । जसबाट गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकले गाउँमै उपचार सेवा पाउन थालेका छन् । उपाध्यक्ष राजकला सार्कीका अनुसार गाउँपालिकाको शिक्षा र स्वास्थ्य सेवा दुबै क्षेत्रमा गुणस्तर सुधार भइरहेको छ ।

खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि धीम रुम्दीलगायतका स्थानमा आयोजना सञ्चालन गरिएको छ । जसले स्थानीयको घण्टौँ पैदल हिँडेर पानी ल्याउने बाध्यता अन्त्य गरेको छ । साथै, रमणीय प्राकृतिक सौन्दर्य र हिमाली वातावरणका कारण यहाँ पर्यटन प्रवर्द्धनका प्रयास पनि भइरहेको छ ।

वडा नं ५ का स्थानीय बिर्ख मलाल भन्छन्, “पहिले गाउँमा कुनै सुविधा थिएन, अहिले भने सबै सेवा गाउँमै उपलब्ध छ ।

विकासको अनुभूति अब गाउँमै पाइन्छ ।” बाजुराको हिमाली गाउँपालिका आज संघीयताको सफल अभ्यासको जीवित नमूना बन्दै विकटतालाई पन्छाउँदै समृद्धिको बाटोमा दृढताका साथ अघि बढिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ