कर्णाली याक्सले सहप्रायोजकका रूपमा भित्र्यायो एशियन पेन्ट्सलाई
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
930
Shares
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले आगामी संस्करणका लागि सहप्रायोजकको रूपमा एशियन पेन्ट्सलाई भित्र्याएको छ।
कर्णाली याक्स स्पोट्र्स प्रा.लि.ले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनपीएलको दोस्रो संस्करणका लागि एशियन पेन्ट्ससँग सहकार्यको औपचारिक घोषणा गरेको हो। कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र एशियन पेन्ट्स मार्केटिङ सहायक प्रबन्धक आस्था सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर १ गतेदेखि एनपीएलको दोस्रो संस्करण आयोजना गर्ने तयारी गरिरहेको छ।
कर्णाली याक्सका निर्देशक घिमिरेले एशियन पेन्ट्ससँग जोडिन पाउँदा खुशी व्यक्त गर्दै टोली दोस्रो संस्करणका लागि पूर्ण रूपमा तयार रहेको बताए। एनपीएलको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा गरेको थियो र यस संस्करणमा पनि राम्रो प्रदर्शन गर्ने गरी तयारी गरिसकेको छ।
यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटल याक एण्ड यति, नेबिको र प्लम्बर पाइप्ससँग पनि सहकार्य अगाडि बढाइसकेको छ। टोलीले यस संस्करणका लागि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। जसमा पहिलो पटक एनपीएल खेल्न लागेका जेम्स वाट र म्याक्स ओ डाउड छन् भने अघिल्लो सिजन राम्रो प्रदर्शन गरेका अस्ट्रेलियाका विलियम बासिष्टोसँग भने सम्झौता नवीकरण गरिएको छ।
कर्णाली याक्सले दोस्रो संस्करणका लागि पनि ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ भने राजु बस्नेत कन्सल्ट्यान्टको भूमिकामा छन्। नेपाली क्रिकेटका अनुभवी खेलाडी सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले यस सिजन गुल्सन झा, नन्दन यादव लगायतका ६ खेलाडीलाई रिटेन गरेको छ र मिनी अक्सनबाट पवन सर्राफ, युवराज खत्री लगायतका खेलाडी अनुबन्ध गरेको थियो। क्यानको योजनाअनुसार, कर्णाली याक्सले आगामी नोभेम्बर २ तारिखमा कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा ट्रफी टुर गर्दैछ भने नोभेम्बर ५ मा ट्यालेन्ट हन्ट गर्ने तयारीमा रहेको छ।