जेन-जी प्रतिनिधित्व बिना राष्ट्रिय सभा निर्वाचन [भिडियो]
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भन्छन्- राष्ट्रिय सभामा जेन–जीको प्रतिनिधित्व दलको इच्छाले मात्रै हुँदैन
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १५ शनिबार
1.3k
Shares
काठमाडौँ। सरकारले निर्वाचन आयोगको परामर्शमा आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य रिक्त पदको निर्वाचन गर्ने मिति घोषणा गरेको छ। आगामी फागुन २० गते रिक्त हुने एक तिहाइ अर्थात् १९ सदस्य (१८ निर्वाचित र १ मनोनीत) को पदपूर्तिका लागि यो निर्वाचन हुन लागेको हो।
भदौमा भएको जेन–जी विद्रोहपछि राज्यका संरचनामा जेन–जी पुस्ता (सन् १९९७ देखि २०१२ बीच जन्मेका) को सहभागिता बढाउनुपर्ने माग उठेको छ र प्रधानमन्त्री सुशीला कार्कीले समेत यसमा चासो राखेकी छिन्। यद्यपि, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार राष्ट्रिय सभामा जेन–जीको प्रतिनिधित्व गराउन संवैधानिक रूपमै बाधा रहेको छ।
भण्डारीले नेपालको संविधानको धारा ८७ (१) मा राष्ट्रिय सभा सदस्य हुनका लागि कम्तीमा ३५ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था भएकाले जेन–जी उमेर समूहका युवाहरू उम्मेदवार बन्न अयोग्य ठहरिने स्पष्ट पारेका छन्। राष्ट्रिय सभाको निर्वाचन प्रणाली परिवर्तन गर्न संविधान संशोधन आवश्यक पर्ने तर प्रतिनिधि सभा विघटन भएको वर्तमान अवस्थामा संविधान चलाउनसक्ने स्थिति नभएकोले अहिले जेन–जीको प्रतिनिधित्व गराउन कठिन रहेको उनको भनाइ छ। राजनीतिक दलका नेताहरूले पनि संविधानको ३५ वर्ष पूरा भएको व्यवस्था संशोधन गर्नसके मात्र प्रतिनिधित्व सम्भव हुने बताएका छन्।
राष्ट्रिय सभा ५९ सदस्यीय हुन्छ। माघ ११ गते हुने १८ सदस्यको निर्वाचनमा सातवटै प्रदेशमा रहेका स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेश सभा सदस्यहरू मात्रै मतदाता रहन्छन्। प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तह सदस्यको मतभार १९ हुनेछ। निर्वाचन आयोगले सातवटै प्रदेशका राजधानीमा मतदान केन्द्र तोकिने जानकारी दिएको छ।