वीरगञ्ज भन्सार कार्यालयमा अनलाइन डाटाबेस प्रणाली शुरू
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
947
Shares
काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले अनलाइन डाटाबेस प्रणाली शुरू गरेको छ । शनिबार वीरगञ्ज भन्सार कार्यालयमा उक्त अनलाइन भन्सार डाटाबेस प्रयाालीको शुभारम्भ भएको हो ।
आर्थिक वर्ष २०८२–८३ को बजेट वक्तव्यमा उल्लेख भए बमोजिम प्रचलित सन्दर्भ मूल्यसूची विस्थापन हुने गरी अनलाइन भन्सार डाटाबेस प्रणाली बनाइएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
उक्त प्रणालीको डिजिटल माध्यमबाट शुभारम्भ गर्दै अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा रहेको निजी क्षेत्रलाई सुरक्षा र सुशासनको प्रत्याभूतिसहित व्यवसाय सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।
यसका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापारमा विश्व व्यापार संगठनद्धारा अनुमोदित ग्याट भेलुएसन प्रणालीलाई नेपालको भन्सार ऐन, नियममा समेत स्वीकारिएको सन्दर्भमा कारोबार मूल्यलाई मान्यता दिने गरी सोको परीक्षणका लागि अनलाइन कस्टम डाटाबेस प्रणाली कार्यान्वयनमा ल्याइएकोसमेत उनले बताए ।
यस प्रणालीको कार्यान्वयनले वैध व्यापारलाई प्रोत्साहन गर्ने, मूल्य अभिवृद्धि कर लगायत अन्य कर कार्यान्वयनमा सहायता पुग्ने, अनौपचारिक कारोबारमा कमी आउने र उद्योग व्यवसाय फस्टाउने अपेक्षा राखेको बताए ।
उक्त शुभारम्भ कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी, अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थ चिलुवाल, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली, एसियाली विकास बैंकका भन्सार मूल्याङ्कन विज्ञ निर्मलहरि अधिकारी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।