टी–२० क्रिकेटमा जोस ब्राउनले १४० रन बनाए जुन कमै खेलाडीले बनाउन सकेका छन्
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
952
Shares
काठमाडौं । सुदूरपश्चिम रोयल्सले आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेट प्रतियोगिताका लागि चौथो विदेशी खेलाडीको रूपमा अष्ट्रेलियाका आक्रामक ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ।
ब्राउनले अष्ट्रेलियाको प्रतिष्ठित बिग बास लिग (बीबीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शनका लागि चिनिन्छन्। टी–२० क्रिकेटमा ४० खेल खेल्दै ९४५ रन बनाएका उनले एनपीएलको दोस्रो संस्करणमा खेल्न पाउँदा खुसी व्यक्त गरेका छन्। टी–२० क्रिकेटमा जोस ब्राउनले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर १४० रन रहेको छ, जुन कमै खेलाडीले बनाउन सकेका छन्।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले ब्राउनले बीबीएलमा आफ्नो बेग्लै छाप छोडेको उल्लेख गर्दै नेपालमा पनि उनको उत्कृष्ट प्रदर्शन हुनेमा विश्वस्त रहेको बताए।
सुदूरपश्चिम रोयल्सको टोलीमा कप्तान दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन रहेका छन्।