arrow

'नेपाली कम्युनिष्ट पार्टी' जनताको आशाको केन्द्र बन्नेछ - सहसंयोजक नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
madhav-nepalsss.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवगठित पार्टी नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह र जनताको आशा र भरोसाको केन्द्र बनेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले यो पार्टी जनताको मन र विश्वास जित्ने तथा देशको समस्या समाधान गर्न अघि बढ्ने स्पष्ट पारे।

सहसंयोजक नेपालले आज एतिहासिक काम सम्पन्न र एतिहासिक सुरुवात भएको भन्दै यसले सिंगो नेपाली राजनीतिमा तरङ्ग पैदा गर्ने बताए। मुलुक अहिले असाधारण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले अन्य वामपन्थी शक्तिलाई एकतामा आउन आह्वान गरे।

उनले भने, “ढिला नगर्नुस्, जनताको भावना र समयको महत्त्व बुझ्नुस्, आउनुहोस्, एकताबद्ध भएर अघि बढ्ने निर्णय गरौँ।”

नेपालले कम्युनिष्ट पार्टीको अगुवाइमा पञ्चायत र राजतन्त्र अन्त्य भएको तथा जनप्रतिनिधिबाट संविधान बनाइएको जिकिर गर्दै कम्युनिस्ट पार्टीको उपादेयता नसकिएको बताए। उनले नेपाली राजनीतिमा इमान्दारिताको अभाव रहेको भन्दै अब आफ्नो व्यवहारबाट जनताको मन जित्नुपर्ने र मुलुक तथा जनताले भोग्नुपरेको समस्या हल गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।

सहसंयोजक नेपालले अब कमीकमजोरी स्वीकार्दै जनतामा नयाँ आशा, विश्वास र सङ्कल्प जगाउन सक्नुपर्ने र त्यस दिशामा नेपाली कम्युनिस्ट पार्टी सफल हुने विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ