निर्वाचन सफल बनाउन सञ्चार माध्यम थप प्रभावकारी हुनुपर्नेमा राष्ट्रपति पौडेलको जोड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
907
Shares
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन सञ्चार माध्यमहरूले अझ प्रभावकारी ढङ्गले काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
आज सार्वजनिक सेवा प्रसारण तथा 'एनटिभी वर्ल्ड' को औपचारिक शुभारम्भ समारोहमा बोल्दै राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रतिको चाहनालाई ध्यानमा राख्दै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन निर्वाचन घोषणा गरिएको उल्लेख गरे। उनले निर्वाचनलाई सफल बनाउनका लागि सञ्चार माध्यमहरू अझ बढी क्रियाशील हुनुपर्ने र विशेष गरी सरकारी सञ्चार माध्यमहरूले लोकतन्त्रको सुदृढीकरणमा बढी जोड दिनुपर्ने स्पष्ट पारे।
राष्ट्रपति पौडेलले जनतालाई सही सूचना दिनेकुरामा सञ्चार माध्यमहरूले गम्भीरतापूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, उनले भर्खरै शुभारम्भ भएको नयाँ च्यानल 'एनटिभी वर्ल्ड' ले नेपालको संस्कृति, भेषभूषा, भौगोलिक विविधता, प्राकृतिक सौन्दर्यता, पर्यटन, धार्मिक तथा सांस्कृतिक धरोहरहरू र नविन सोच तथा उपलब्धिहरूलाई विश्व समक्ष चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।