एनपीएलका लागि सुदूरपश्चिमले सार्वजनिक गर्यो मस्कट 'बड्डाउ'
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
901
Shares
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट 'बड्डाउ' सार्वजनिक गरेको छ। सुदूरपश्चिमको स्थानीय भाषामा नामकरण गरिएको यो मस्कटले बाघको स्वरूप तथा सो क्षेत्रको संस्कृतिलाई प्रतिबिम्बित गर्दछ।
गत सिजनको उपविजेता टोली सुदूरपश्चिम रोयल्सले यसपटक भने उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारी गरिरहेको छ। टोलीले आइतबार धनगढी क्रिकेट एकेडेमी (डीसीए) मा आयोजित ट्यालेन्ट हन्टको उद्घाटनका अवसरमा यस मस्कटलाई अप्रत्याशित रूपमा अनावरण गरेको हो। रोयल्सले यसअघि नै आफ्नो अफिसियल फ्यान एन्थम पनि सार्वजनिक गरिसकेको छ। डीसीएमा जारी रहेको ट्यालेन्ट हन्ट आज (सोमबार) सम्म चल्नेछ।
जगत टमटा मुख्य प्रशिक्षक रहेको सुदूरपश्चिम रोयल्सको टोलीमा कप्तान दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा जस्ता स्वदेशी खेलाडीहरू समावेश छन्। यसका साथै रोयल्सले स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउनजस्ता विदेशी खेलाडीहरूलाई पनि आफ्नो टोलीमा अनुबन्ध गरेको छ।