जलेका फाइलका लागि प्रहरीको आग्रह, पीडितलाई कागजात उपलब्ध गराउन अनुरोध
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २८ शुक्रबार
870
Shares
काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जलेर नष्ट भएका अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार काठमाडौँ उपत्यकामा भएको प्रदर्शनका क्रममा विभिन्न प्रहरी इकाईमा आगजनी र तोडफोड हुँदा अनुसन्धानका फाइलहरू जलेर नष्ट भएका थिए। यसकारण पीडित तथा निवेदकसँग रहेका विवरण र कागजातहरू उपलब्ध गराइदिन आग्रह गरिएको हो।
प्रहरीको भनाइ छ, ती कागजात उपलब्ध भए अनुसन्धान प्रक्रियालाई सहज रूपमा अगाडि बढाउन सहज हुनेछ। प्रहरीले नजिकको सम्बन्धित वृत्त (सर्कल) तथा जिल्ला प्रहरी परिसर काठमाडौँमा ती कागजात उपलब्ध गराइदिन अनुरोध गरेको छ।